![dengu_dharan_1.[1]](https://eposttimes.com/wp-content/uploads/2019/08/dengu_dharan_1.1-678x381.jpg)
सुनसरी । धरानमा बैशाख ३१ गतेदेखि देखिएको डेंगु ज्वरो भयावह बन्दै गएको छ । अहिलेसम्म धरान उपमहानगरपालिकामा हजारौ डेंगु संक्रमित भएका छन भने तीन जनाको मृत्यु भएको छ ।
डेंगुका कारण धरान १५ का मनु सुनुवार, धरान ५ का कुसुम लकान्द्री र एक जना विद्यार्थीको मृत्यू भएको बताईएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कलाई हेर्ने हो भने अहिलेसम्म धरानमा डेंगु संक्रमितहरुको संख्या २ हजार ८ सय ३ जना पुगेको छ भने १५ दिनको अवधिमा ४ सय ९० जनामा संक्रमण भएको पाइएको छ । तर उता निजी क्लिनिक तथा ल्याव संचालकहरुले भने धरानमा डेंगु संक्रमितको संख्या १० हजार बढी पुगेको दावी गरेका छन् ।
धरान उपमहानगरपालिकाले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पताल विजयपुर हस्पिटलबाट मात्रै तथ्याङ्क लिने गरेकोले धरानमा डेंगु संक्रमितहरुको संख्या यकिन हुन नसकेको बताइएको छ ।
पछिल्लो समय धरानमा डेंगु संक्रमणदर उच्च रहेकोले धरानको डेंगु नियन्त्रण सम्वन्धी संचारकर्मीहरुसँगको अन्तत्र्रिmया कार्यक्रममा धरान उपमहानगरपालिका वडानं. १६ का वडाध्यक्ष दिलबहादुर गिरीले धरान १६ मा डेंगु संक्रमणदर उच्च रहेको र घरै पिच्छे बिरामी रहेको बताए ।
सो अन्तत्र्रिmया कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका उपप्राध्यापक हेमन्त खनालले धरानमा डेंगुको सेरो टाईप टु भाईरस भेटिएको बताउँदै धरान उपमहानगरपालिकामा डेंगु नियन्त्रण सम्वन्धी भईरहेको कार्यक्रम प्रभावकारी नभएको बताए ।
एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट हुने डेंगु ज्वरो धरानमा देखाको यत्तिका समय बितिसक्दा पनि नियन्त्रणमा आउन सकेन । धरानका प्रायजसो निजी क्लिनिक र ल्यावहरुमा बिरामीको चाप बढेको छ । तर यसरी धरानमा डेंगुले महामारीरुप लिनुको मुख्य कारण धरानबासी आफैले लापर्वाही गरेर भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।
डेंगु के हो ? यो कसरी फैलिन्छ भन्ने बारेमा जानकार भएर पनि धरानबासी आफैले लापर्वाही गर्नु नै मुख्य कारण भएको बताउँदै केन्द्रीय प्रविधि क्याम्पस धरानका माईक्रोवायोलोजी प्रमुख धिरेन लिम्वूले भने समुदायमा अझै बुझाउन नसक्नु र जनचेतनाको कमीले डेंगु संक्रमण बढेको हो ।
यसरी धरानमा डेंगु संक्रमणले भयावहरुप लिएकोले अब धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पनि सहयोगका लागि पत्रचार गरेको धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीले बताए ।
अब धरानको डेंगु नियन्त्रणलाई प्रभावकारी बनाउन सर्च एण्ड डिस्ट्रोए अभियानलाई तिब्रता दिइने, धरान नगरबासीको घरघरमा अनुगमन गरी फ्रिज, कुलर, एसी, गमलाको अनुगमन गरिने र नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर डेंगु नियन्त्रण अभियान चलाइने कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीले बताए ।