
धरानः इलाका प्रहरी कार्यालय धरानले सोमवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको अभियुक्त निरजकुमार राउतको गतिविधिले धरान लागुऔषध र हतियार समेतको कारोबार स्थल बन्दै गएको आशंका बढेको छ ।
राउत संगै प्रहरीले बरामद गरेको खैरो हेरोइन सहित भारी मात्राको लागुऔषध, पेस्तोल, त्यस्मा लाग्ने म्याग्जीन र गोली, मोटरसाइकलको भारतीय नम्बर प्लेट सहितका सामाग्रीले लागुऔषध र हतियारको कारोबारमा २३ वर्षिय राउत एक्लै छैनन् भन्ने अनुमान गर्न सकिन्छ । सुनसरीको साबिक पश्चिम कुशाहा वडा ४ हाल कोशी गाउपालिका वडा ३ का राउत स्थानीय बेचन कुमार राउतको छोरा हुन् । पश्चिम कुशाहा कोशी नदी संगै भारतीय सिमाक्षेत्र संग गाँसिएको छ । धरानमा डेरा लिएर बसेको राउतको सम्पर्क भारतीय सिमाक्षेत्रका लागुऔषध, हतियार तस्करहरु संग रहेको अनुमान गर्न गाह्रो हुन्न ।
राउतको धरान–१० स्थित डेराबाट प्रहरीले बरामद गरेको लागुऔषध सहित हतियार, गोलीहरु सम्भवत उनले कोशी व्यारेज–चतराको बाटो हुँदै भारतीय सिमाक्षेत्र बाट ल्याएको अनुमान गरिएको छ । ३ महिना अघि मात्र लागुऔषध र २ थान पेस्तोल सहित पक्राउ परेर अदालतबाट छुटेका राउतको कारोबारको सम्पर्क काठमाण्डौमा समेत रहको उनको डेरामा प्रहरीले बरामत गरेको धरान–काठमाण्डौ बसको टिकट बाट अनुमान गर्न सकिन्छ । हेरोइनको बजार राजधानी काठमाण्डौ र इटहरी पूर्व तिर रहेको मानिन्छ ।
लागुऔषध लगायतको ओसार पसार गर्न हवाई मार्गबाट सम्भव नभएकाले यस्ता कारोबारी सार्वजनिक यातायातलाई तस्करीका लागि प्रयोग गर्दछन् । धरान बाट लामो दुरीको सार्वजनिक यातायात पश्चिम पोखर, नेपालगञ्ज सम्मनै चल्ने भएकोले राउत संग सम्बद्ध समुहले लागुऔषध र हतियारको कारोबारको ट्राञ्जिट धरान लाई बनाउँदै आएको बुझिन्छ ।
यसबारेमा भने प्रहरीले कुनै कुरा सार्वजनिक गरेको छैन् । पत्रकार सम्मेलनमा राउत लाई सार्वजनिक गर्दै इलाका प्रहरी प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले क्षेत्रीय प्रहरीको अनुसन्धान समुह र इलाका प्रहरी कार्यालयको ५ दिनको प्रयासमा आइतवार राउतलाई पक्राउ गरिएको बताए । क्षेत्रिय प्रहरीको निगरानीमा रहेकाले पनि राउत बाट लागुऔषध र हतियार, गोलीको गरैरकानुनी तस्कारी गर्ने ठूलै गिरोहको खुलासा हुनसक्ने सम्भावना छ । इलाका प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार २३ वर्षिय निरज कुमार राउतले डेरा कोठा लिई त्यहीँ बाट लागू औषधको कारोबार गर्ने गरेको सूचना पाएको हो । बिशेष सुचनाको आधारमा केही दिन लगाएर क्षेत्रिय अनुसन्धान समुह (आरआइटी) र इलाका प्रहरीको टोलीले डेरा कोठा पत्ता लगाएको बताइएको छ ।
इलाका प्रहरीका प्रहरी नायव उपरीक्षक नेतृत्वको टोलीले आसोज २६ गते आइतवार ६ बजे धरान–१०, बिशालपथ स्थित बलबहादुर तामाङको घरमा छापा मारेर निरज कुमार राउत लाई पक्राउ गरेको हो । प्रहरी अनुसार २०७२ माघ २२ गते राउतले हाँकेको मोटरसाइकलमा लागूऔषध कोरक्स र नाईट्रोसन ट्याबलेट बरामद भई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकामा धरौटीमा छुटेका थिए । २०७४ असोज ७ गते पूनः राउतको साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस सहित पक्राउ परेकोमा लागूऔषध मुद्दा साबित भई १८ महिना कैदमा बसी छुटेका हुन् । हालै २०७६ असार १२ गते राती धरान–११ र १५ बाट २ नाल पस्तोल २ थान म्याग्जीन र २६ राउण्ड बुलेट सहित लागूऔषध खैरो हिरोइन र डाइलेक्स–डिसी सहित पक्राउ परेका ३ जना सहित र हातहतियार खरखजना मुद्दा सुनसरी जिल्ला अदालतमा पेश हुँदा अदालतको आदेशले तिनै जना पुर्पक्ष थुनामा रहेका ।
हातहतियार खरखजना र लागूऔषधमा पक्राउ गरिएको राउतलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध र हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्यादथप भई थप अनुसन्धानको कार्य भई रहेको प्रहहरीले जनाएको छ ।
राउतको डेराकोठाको खान तलासी गर्दा कोठाको बक्स पलंग भित्र पट्टी रहेको बक्स कोठाहरुमा कालो पोलिथिन पलाष्टिकका झोलामा बेरी लुकाई राखेको हातहतियार तथा खरखजना र अबैध लागूऔषध फेला परेको बताइएको छ । प्रहरी अनुसार राउतको कोठा बाट बारमद अबैध वस्तुहरुमा फलामलाई बेरी काठको बींड लगाएको, नम्बर र बनेको देशको कोरमेट गरेको म्याग्जिन लाग्ने पेस्तोल १ थान र पिस्तोलको म्याग्जिन १ थान सहित ७.६५ लेखिएको १३ राउण्ड बुलेट रहेको छ ।
यसैगरी कोठाबाट अंग्रेजीमा डाइलेक्स–डिसी १०० एमएल लेखिएको लागुऔषध २२५ बोतल, निट्रोसन १० लेखीएको ६४ फायल (प्रति १ फायल १० ट्रयबलेट) जम्मा ६४० ट्याब्लेट, प्लाष्टीक भित्र रहेको खैरो होरोइन जस्तो देखिने तौल गर्दा ७ ग्राम, स्पास्मो–प्रेक्सीभोन प्लस ५३९ फायल (प्रति फायल २४ क्याप्सुल) जम्मा १२,९४४ क्याप्सुल, तौल गर्ने सानो डिजिटल तराजु १ थान, नगद ११ हजार ३३० रुपया, निरज कुमार राउतको नामको नागरीकता १ थान, असोज २४ गतेको धरान–काठमाण्डौ लेखिएको टिकट थान १, डायरी १ थान, भारतिय बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नंम्बर प्लेट १ थान, हुवाई कम्पनीको ट्याब १ थान, सामसुङ मोबायल १ थान रहेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।