
काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाले सत्ता सञ्चालनमा ब्यापक हेरफेरको सघन तयारी थालेको छ । प्रदेश प्रमुख फेरेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सल्लाहकार र सहयोगीलाई एकैपटक विदा दिए । नयाँ प्रदेश प्रमुख, नयाँ सचिवालयपछि नयाँ मन्त्री परिषद निर्माणमा नेकपा अध्यक्षद्धय जुटेका छन् ।
नयाँ मन्त्रीपरिषदपछि मुख्यमन्त्री पनि फेर्ने तयारी भइरहेको छ । मन्त्री हेरफेरपछि नेकपा ६ मुख्यमन्त्रीलाई सामुहिक राजीनामा गराउने तयारी थालिएको बालुवाटार स्रोतले बताएको छ । मुख्यमन्त्री हटाउँदा पार्टीमा गलत सन्देश जाने भएपछि सामुहिक राजीनामा गराउन अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भइसकेका छन् ।
६ मुख्यमन्त्रीले एकैपटक राजीनामा गरेपछि ६ नयाँ मुख्यमन्त्री बन्नेछन् । वर्तमान मुख्यमन्त्रीहरुले केन्द्र सरकारको स्पिडमा हिड्न नसकेको र सहयोगी भूमिका पनि नखेलेको ठहर प्रधानमन्त्री ओलीले गरेका छन् । केन्द्रदेखि प्रदेशसम्म जनमुखी परिणाम ल्याउन मन्त्री र मुख्यमन्त्री फेर्ने तयारी थालिएको हो, नेकपाका एक नेताले भने केन्द्रका मन्त्री र मुख्यमन्त्री एकैपटक हेरफेर पनि हुन सक्छ ।
बालुवाटारमा मन्त्री हेरफेरको फेरी कसरत, कसको बिदाई को हुँदैछन् नयाँमन्त्री ?
प्रधानमन्त्री केही मुख्यमन्त्रीसँग सन्तुष्ट छैनन् । प्रदेश नम्वर १ मुख्यमन्त्री शेरधन राई र प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेले गतिशिल तथा परिणाममुख नतिजा दिन नसकेको निस्कर्षमा दुई अध्यक्ष पुगेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई अहिले राजीनामा गराएपनि पछि उनलाई नै पुर्न नियुक्ति गराउने र ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा गराएर प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा ल्याउने तयारी गरिएको छ । ५ नम्वर प्रदेशमा पूर्वमाओवादीलाई दिने र कर्णालीमा पूर्वएमालेलाई दिने आँकलन गरिएको छ । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा पनि नयाँ मुख्यमन्त्री ल्याउने तयारी थालिएको छ ।
मुख्यमन्त्रीहरुले परिणाम दिन नसकेको र भ्रष्टाचार मात्र मौलाएको जनगुनासो बढेपछि दुई अध्यक्ष मुख्यमन्त्री पनि फेर्ने पक्षमा उभिएका हुन् । तर मुख्यमन्त्री फेर्ने बिषयमा नेकपाका अन्य नेताहरुसँग सल्लाह गरिसकिएको भने छैन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।