
धरान / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेद्वारले धरानमा बर्चस्व कायम गर्ने स्पस्ट देखिएको छ । उपनिर्वाचनको प्रचारप्रसारमा घरदैलो गर्दै हिँडेका उम्मेद्वार प्रकाश राईका पक्षमा मतदान गर्न आम धरानबासी उत्साहित देखिएका छन् ।
धरानबासीले लोकप्रिय मेयर स्वर्गिय तारा सुब्बाकै उत्तराधिकारीका रुपमा प्रकाश राईलाई लिएका छन् । गत साताबाट चुनाबी मैदानमा उत्रिएको नेकपाले घरदैलो गरिरहँदा जनताले उत्साहपूर्ण ढंगले स्वागत गरेको नेकपा धरानले जनाएको छ ।
आइतबार धरान–१५ स्थित श्याम चोकबाट उम्मेद्वार प्रकाश राई सहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय र्याली जस्तै देखियो । घरदैलो अभियानमा सहभागीको संख्या धेरै भएपछि विजय र्याली झै देखिएको नेकपा १५ नं. अध्यक्ष ज्ञानेन्द्र बस्नेतले बताए । ‘नेकपाले विगतमा गरेको कामले जनताको विस्वास हामीमाथि छ । यो सहभागीताले हामी उत्साहित छौं, प्रकाश राईको जीत सुनिश्चित छ ।’ बस्नेतले भने ।

धरान यसै त बामपन्थीहरुको गढ नै हो । अहिलेसम्म धरानमा प्रमुख प्रत्यासी नेपाली कांग्रेसले कुनैपनि निर्वाचनमा जित निकाल्न सकेको छैन । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा कम्युनिस्टको विरासत भत्काउन कांग्रेसले सकेको छैन । यस पटक त दुई कम्युनिस्टहरु माओवादी र एमालेको एकताले बेग्लै माहोल बनेको अवस्थामा कांग्रेसलाई लालकिल्ला तोड्न फलामको चिउरा चपाए सरह छ ।
त्यसमाथि स्थानीय कम्युनिस्ट राजनीतिमा भिजेका सधैं जनताको पक्षमा राजनीति गरेका योग्य ब्यक्तिलाई पार्टीले टिकट दिएपछि धराने जनतामा उत्साह छाएको छ । ‘स्वर्गिय मेयर तारा सुब्बाको स्थान कसैले लिन्छ त त्यो प्रकाश राईले नै लिन्छ ।’ धरान १५ का एक स्थानीय युवाले भने । नेकपाको घरदैलो अभियानमा स्थानीय जनताहरु नाचगान सहित निर्वाचन नहुँदै विजयी र्याली निकाले जस्तो गरेर चुनाबी अभियानमा होमिएको नेकपा धरान नगर सदस्य राजमणी निरौलाले बताए ।

घरदैलो अभियानमा नेकपाका उम्मेद्वार प्रकाश राई सहित स्थानीय नेता तथा कार्यकर्ताहरुले जनताका घरघर पुगेर आफ्नो एजेण्डामात्र राखेका छैनन् । स्थानीय जनताका समस्या, गुनासाहरु समेत सुनिरहेका छन् । ‘निर्वाचनको रिजल्ट कस्तो आउला त्यो पछिको कुरा हो, अहिले हामीले जनता माझ हाम्रा एजेण्डा राख्ने र जनताका जनजिविकासँग प्रत्यक्ष जोडिएका कुरालाई सुनिरहेका छौं, यसले भोलीका दिनमा धरानको सर्वा्ङिगण विकासका लागि कस्तो ठोस योजना बनाउन सकिन्छ भनेर आधारतय गर्न सहज हुन्छ ।’ मेयरका उम्मेद्वार प्रकाश राईले भने ।
स्वर्गिय तारा सुब्बाले धरानलाई एउटा सुविधा सम्पन्न नमुना शहर बनाउने सपना देखेका थिए । उनले आफ्नो छोटो कार्यकालमा त्यसलाई मूर्तरुप दिन त पाएनन् तर, नमुना शहर बनाउने अभियानको जग भने हालिसकेका थिए । काकाकुल रहेको धरानलाई एशियाली विकास बैंकको सहयोगमा निर्माणाधिन खानेपानी परियोजना ल्याउन, विमानस्थल निर्माणको अभियान थाल्न, अब्यवस्थित बसपार्क ब्यवस्थित गर्न, अब्यवस्थित सुकुम्बासीबस्तीलाई ब्यवस्थित गर्न, सेउती सर्दु जस्ता खहरे खोलालाई नियन्त्रण गर्न तथा धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटकीय शहरका रुपमा परिभाषित गर्न सुब्बाले ठोस योजना बनाएपनि मृगौला रोगका कारण उनी आफ्नो कार्यकाल पुरा नगरीकनै स्वर्गिय भए ।
‘अब स्व. तारा सुब्बाले देखेको ब्यवस्थित, सुसंस्कृत र समृद्ध धरानको विकास गर्ने जिम्मेवारी प्रकाश राईको काँधमा छ र, उनले दृढतापूर्वक इमान्दारीताका पूर्वक स्व. तारा सुब्बाको सपना र धरानबासीको चाहना पुरा गर्नेमा हामी ढुक्क छौं ।’ स्थानीय दलबहादुर लिम्बुले भने ।

अखिलका नेताहरु धरानमा केन्द्रित हुदै
उपनिर्वाचनमा अन्य स्थान भन्दा धरानलाई महत्वपुर्ण मानिएकाले नेकपाको विद्यार्थी संगठनका केन्द्रीय संयोजकसहितको टिम धरान आउने भएको छ । नेकपा मेयरका उम्मेदवार प्रकाश राईलाई विजय गराउन नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीयस्तरका नेता धरान आउने प्रदेशस्तरीय भेलामा जानकारी दिइएको हो ।
आइतबार नेकपा पार्टी कार्यालयमा आयोजित भेलामा जिल्ला अध्यक्ष जिवि गजलले निर्वाचनमा नेकपाका केन्द्रीय संयोजक तथा सहसंयोजकको टिमसहित प्रदेशस्तरका नेताहरु धरान केन्द्रित हुने जानकारी दिएका हुन् । अन्य ठाउँमा भने सोही स्थानका केन्द्रिय सदस्य लगायत स्थानीय नेतालाई परिचालन गरिने उनले बताए ।

उक्त भेलाले विद्यार्थीका केन्द्रिय तहदेखि तल्लो तहसम्मका नेता तथा कार्याकर्ता रहने गरी निर्वाचन प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । चुनाबी प्रचारको लागि अनेरास्ववियु तथा अखिल क्रान्तिकारी दुवै संगठनका जिल्ला अध्यक्ष जिवि गजल र बुद्रोश लिम्बु नेतृत्व रहने गरि उपसमिति बनाइने छ ।
-भरतराज शर्मा (गोपाल)
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।