
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश राई नेकपाका पुराना र क्रियाशील नेता हुन् । २०३५ सालको चरम निरंकुश पञ्चायतीकालमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत कम्युनिस्ट पार्टीमा सङ्गठित भएका उनी त्यसयता अविच्छिन्न रुपमा पार्टीमा क्रियाशील छन् ।२०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य, माले र माक्र्सवादी बिच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए । यसै गरी २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यका रुपमा १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए । पार्टीमा फुट, गुट, विभाजन र जातिय संकिर्णता देखिएपनि ४१ वर्षसम्म त्यसको प्रभावमा नपरी क्रियाशिल एक अविचल संगठक मानिन्छन् । धरान घोपा क्याम्प चिल्ड्रङेन स्कुलमा प्रारम्भिक अध्ययन गरी महेन्द्र बहुमुखी क्याम्पस धरानबाट बि.ए.सम्मको अध्ययन पुरा गरेका राई धरान वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् । खासगरी धरान र सुनसरीको राजनितिमा स्थानिय सामाजिक परिवेश, रुपान्तरण र विकासलाई प्रत्यक्ष बुझेका राई शालिन, भद्र, मृदुभाषी र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन् । तत्कालिन मेयर स्व.तारा सुब्बाले अघि सारेका धरानको विकासका बाँकी कामहरु पुरा गर्ने जिम्मेवारी वहन गर्न सक्ने र धरानको समग्र विकासका लागि नेकपाले अघि सारेको प्रतिबद्धता कार्यान्वयन गर्न सक्ने नेता ठहर गरी पार्टीले उनलाई धरान उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । आफ्नो उम्मेदवारी र धरानको समग्र विकासबारे इपोष्टटाईम्स डट कमले उहाँसँग गरेको विस्तृत कुराकानी यहाँ प्रस्तुत छ :–
चुनाव प्रचारका क्रममा घरदैलो गरिरहनुभएको छ, जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
-धरानवासी दाजुभाई दिदीबहिनीहरु अत्यन्तै उत्साहित पाएको छु । यसलाई मैले उहाहरुको मप्रतिको आशा, विश्वास र माया भन्ने बुझेको छु । प्रकाश राई नगरप्रमुख भएर आयो भने आफ्नै मान्छे आएछ है भन्ने उहाँहरुको मनसाय मैले बुझेको छु । धरानको लगभग आधा भन्दा बढि वडा घुमीसक्दा खासगरी वृद्धवृद्धा, गरिब, सुकुम्बासीहरुले आफ्नै मान्छे, साथी, छोरा वा प्रतिनिधी आईपुगेको जस्तै गरी स्वागत गर्नुभएको छ । उहाँहरुको समस्या, सुखदुख मसँग बाँड्नुभएको छ । आशिर्वाद दिनुभएको छ । यसलाई मैले उहाँहरुले दिनुभएको जिम्मेवारीको रुपमा लिएको छु । म विजयी भएमा उहाँहरुको चाहना र समस्यालाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मानसिकता बनेको छ ।
धरानवासी जनताले नगरप्रमुख पदमा तपाईलाई नै किन जिताउनु पर्ने जस्तो लाग्छ ?
-संस्थागत वा पार्टीगत कुरा पहिलो हो किनभने म आफै उम्मेदवार भएको होइन । मलाई नेकपा नगर, जिल्ला र प्रदेशको सिफारीसमा केन्द्रिय समितिले उम्मेदवार बनाएको हो । त्यसैले तत्कालिन नेकपा एमाले र हाल एकता पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानिय विकासप्रति निति र दीर्घकालिन सोँच नै मेरो उम्मेदवारीको औचित्य हो । लामो समय हाम्रै पार्टीले धरानको नेतृत्व गरेको जगजाहेर छ तर ती सबै नेतृत्व समय व्यतित गर्ने हिसाबले वितेका छैनन् । कुनै न कुनै सिर्जनात्मक विकासका काम भएकाछन् । अहिलेको धरानको सुन्दर र विकसित रुपमा हाम्रै पार्टीको नितिको प्रतिफल हो । त्यसैले हाम्रो पार्टीको प्रतिनिधीका रुपमा मलाई धरानवासीले मत दिनुपर्छ । दोश्रोे कुरा, म धरानमा प्रत्येक टोल, वडा र समुदायमा भिजेको मान्छे हुँ । विकास निर्माण र सामुदायिक विकासका सवालमा म कुनै पनि व्यक्ति, समुदाय र विचारलाई फरक दृष्टिले हेर्दिन । मेरो स्वाभाव नै कुनै पनि व्यक्तिका लागि सहज प्रकारको छ । म नगरप्रमुख भएमा म ठुलो मान्छे हुन्छु, भएछु भन्ने मेरो सोँच हुदैन तर म धरानवासीको साथी, सहयोगी र आफन्त चैँ हुनसक्छु भन्ने मलाई लागेको छ ।
खासगरी धरानका व्यापारीहरुले एमाले सरकारले कर अत्यधिक बढाएकोले मारमा पर्यौँ र व्यापार चौपट भयो भन्ने गुनासो गरेकाछन् । व्यापारीहरुले भोट देलान् त ?
-तत्कालीन एमाले सरकारले कर बढाएको भन्ने कुरा अत्यन्तै कपोलकल्पित कुरा हो । कुनै पक्षले नियतवश राजनैतिक स्वार्थ पुर्ति गर्नका लागि फैल्याएको अफवाह हो । व्यापारी मित्रहरुले पनि यही अफवाहलाई विश्वास गरिदिनु दुखको कुरा हो । कर बढाउने जस्तो जनतासँग प्रत्यक्ष जोडिएको कुरा एमाले वा कुनै पार्टी विशेषले निर्णय गर्ने होइन । त्यसरी गरिएको पनि छैन । कर जस्तो कुरामा नगरपालिकाको एउटा नीति र विधिमा टेकेर संयन्त्रले निर्णय गर्ने हो । संयन्त्रमा नगरमा अस्तित्वमा रहेका सबै दलको प्रतिनिधित्व हुन्छ र उनीहरुको सर्वसम्मति बिना यसलाई निर्णय गरेर लागु गर्ने कुरा आउँदैन । तत्कालिन नेकपा एमालेको नेतृत्वमा नगरपालिका हुँदा पनि सबै दलहरुको उपस्थिती रहेको संयन्त्रले निर्णय गरेको हो । अझ स्थानिय व्यापारी, उपभोक्ता वा नगरवासीहरुसँग प्रत्यक्ष राय समेत लिइएको छ । तत्कालिन एमालेको नेतृत्व भएकोले हाम्रो पार्टीलाई आक्षेप आएको मात्र हो । नेतृत्व भएका नाताले यस्ता आक्षेप आउनु कुनै नौलो कुरा होइन । अर्को कुरा, कर सम्बन्धि विज्ञहरु र धरान नगरका दलिय संयन्त्रहरुसंगको घनीभूत छलफल अनि प्रत्यक्ष अध्ययन र राय सुझावकै आधारमा कर निर्धारण गरिएको हो भन्ने मलाई लाग्छ । फेरि पनि व्यापारी मित्रहरुलाई करकै कारण व्यापार चौपट भएको गुनासो छ भने आवश्यकता अनुसार यसको अध्ययन र सो अनुसार निर्णय गरी समायोजन गर्न सकिनो बाटोहरु पनि प्रसस्त छन् । नगर सभाबाट कर पुनरावलोकन गर्नका लागि पहल गर्न सकिन्छ । म आफै पनि व्यापारी पृष्ठभूमिको मान्छे हुँ । व्यापारीवर्गको हितभन्दा पर जाने कल्पना गर्न पनि सक्दिन । त्यसैले म पदमा पुगेँ भने व्यापारी मित्रहरुसँग तुरुन्त छलफल गरेर उहाँहरुको भावनाको कदर हुने गरी निर्णय लिनेछु ।
धरानको सडक समस्या जस्ताको तस्तै छ । पिच गरेको दुई महिनामै उप्किने र खाल्डाखुल्डी परेका कारण दुर्घटनाका सम्भावना अधिक छन् । यसबारे के योजना बनाउनुभएको छ ?
-सडकको काम सडक विभागले हेर्ने हो यद्धपि नगरवासीले उपमहानगरपालिकालाई जिम्मेवार देख्छन् । जुन स्वाभाविक छ । विभागसँग समन्वय गर्ने र काम छिटो गराउने काम नगरपालिकाले नै गर्ने हो । धरानका सडकहरुको अस्त व्यवस्था मैले पनि भोगेको छु । वर्षाको समयमा झन् हिड्नै नहुने अवस्था छ । मेरो वशमा भए म अहिले नै सडकलाई दुरुस्त बनाउने काममा लाग्ने थिएँ किनभने यो अत्यन्तै प्राथमिक कुरा हो । म नगरप्रमुख विजयी भएँ भने मेरो पहिलो काम नै धरानका आन्तरिक सडक सञ्जाललाई व्यवस्थित गर्ने हुनेछ । धुलो हटाउने र खाल्डाखुल्डी पुर्ने काम पहिलो हुनेछ । बाहिरबाट आउने कुनै नयाँ व्यक्तिलाई धरान प्रवेश गर्दा सडककै कारण धरानका बारे गलत मानसिकता नबनोस भन्ने मेरो आशय छ । दीर्घकालिन सडक सञ्जालको कुरा गर्दा रानी देखि किमाथाङ्कासम्म जोड्ने, हुलाकी राजमार्गको धरान खण्डका लागि समन्वय गर्ने, धरान चतरा सडक निर्माणका कामलाई अघि बढाउने तर्फ पनि ध्यान दिनेछु ।
तत्कालिन मेयर तारा सुब्बाको निधन पछि धरान उपमहानगरपालिका अव्यवस्थित ढंगले सञ्चालन भईरहेको छ भन्ने जनगुनासो छ । यसलाई कसरी संवोधन गर्नुहुन्छ ?
-म आफै पनि धरानको नागरिक हुँ । उपभोक्ता हुँ । दैनिक जीवनमा मैले पनि कतिपय अवस्थामा यस्तो अनुभव गरेको छु र गुनासो पनि सुनेको छु । मुख्य कुरा कार्यालयका कर्मचारीहरुको कर्तव्यनिष्ठतामा कुनै सम्झौता हुनुहुँदैन । यदि कुनै कर्मचारी काम भन्दा बढि सेवासुविधा लिने तर्फ मात्र गम्भिर हुन्छ भने उसलाई उपचार गर्ने ठाउँ र विधी पनि हुन्छ । कर्मचारी संयन्त्रलाई परिचालन गर्ने कुरा अझै महत्वपुर्ण कुरा हो । कर्मचारीहरुको दक्षता र लगनशीलताका आधारमा उनीहरुलाई पुरस्कृत र दण्डित गर्ने मेरो प्रयास हुनेछ । उपमहानगरपालिकाको नेतृत्वको नाताले म सबै कर्मचारीहरुको अभिभावकको रुपमा क्रियाशिल हुनेछु । नगरसभाकै कोही जनप्रतिनिधीबाट समस्या आएको छ भने त्यसलाई पनि हल गर्ने विभिन्न उपाय हुनसक्छन् । नगरपालिकाको काम जनताका पक्षमा गर्न गराउन म कुनै पनि कसर बाँकी राख्ने छैन । दोस्रो कुरा, नगरपालिका मेयरले मात्रै चलाउने होइन । यो एउटा संस्था हो र यसको सञ्चालन टिम वर्कले गर्ने हो । म व्यक्तिगत र एकलकाँटे नभई टिम वर्कमा विश्वास गर्ने मान्छे हो । टिम भनेको जनप्रतिनिधी मात्र नभई नगर प्रशासकिय अधिकृत देखि कार्यालय सहायकसम्म हो । म चाहन्छु– मेरो टिममा काम गर्ने मान्छे सदैव जनता प्रति उत्तरदायी होस । जवाफदेही होस । सिर्जनात्मक होस । यति भयो भने जनताको गुनासो आउनेछैन भन्नेमा म ढुक्क छु ।
खानेपानी परियोजना सञ्चालनका क्रममा भ्रष्ट्राचार भएको छ, एमालेका जनप्रतिनिधीकै कारण खानेपानी व्यवस्थापन हुन सकेको छैन भन्ने आरोप छ नि ?
-खानेपानीका सवालमा पनि गलत तरिकाले प्रचार गरिएको छ । धरानमा एक विदेशी कम्पनीले खानेपानी परियोजना सञ्चालन गरेको हो । परियोजनाको सम्पुर्ण स्वामित्व त्यही कम्पनीमा निहित थियो । आयव्यय देखि अनुगमनको सम्पुर्ण काम उसैको अधिकारको कुरा थियो । त्यसमा नगरपालिकाले मात्र नितिगत स्विकृति दिएको हो । कसरी खानेपानीमा नगरपालिकाको जनप्रतिनिधीले भ्रष्ट्राचार गर्यो भन्न मिल्छ ? अर्को कुरा, खानेपानीका लागि खानेपानी संस्थान धरान शाखा छ । संस्थानमा नेपाल सरकारले नियुक्त गरेका कर्मचारी छन् । कर्मचारीहरुका आफ्नै योग्यता, ओहदा र जिम्मेवारी छन् । उनीहरुलाई संस्थानको आफ्नै संयन्त्रले परिचालन र नियन्त्रण गर्छ । तर यहाँ यस्तो तरिकाले अफवाह फैल्याईएको छ कि खानेपानीमा काम गर्नेहरु चैँ सबै नेकपाका कार्यकर्ता हुन् र उनीहरुले नेकपाका घरघरमा मात्र खानेपानी पु¥याउँछन् । अन्य पार्टीका घरमा चैँ नियतवश पानी बन्द गरिदिन्छन् । नगरपालिकाले खानेपानी संस्थानसँग समन्वय गरी काम गर्ने कुरा आफ्नो ठाउँमा छ । खानेपानी व्यवस्थापनका लागि खानेपानी व्यवस्थापन बोर्ड छ नि त । नगरपालिकाले पनि यसमार्फत बनेका निति र योजनाहरुलाई नगरवासीहरुमा पु¥याउने हो । त्यसैले खानेपानीका सवालमा पनि नगरपालिका नेतृत्वलाई गलत आक्षेप लगाइएको छ । तर पनि मेरो मान्यता के हो भने सबै धरानवासी जनताले पानी सहज उपभोग गर्न पाउनुपर्छ । र यो गर्न नसकिने काम होइन । म नगरप्रमुख पदमा आसिन भएँ भने सम्बन्धित सरोकारवाला सबैसँग आवश्यक छलफल गरी गुनासा र मागहरुलाई संवोधन गर्नेछु ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि के योजना छन् ?
-हाम्रो पार्टीकै निति अनुसार म सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या बारे गम्भिर छु । धरानमा पनि अत्यधिक संख्यामा अव्यवस्थित बसोबास छ । यसअघि अग्रज तारा सुब्बाको नेतृत्वमा नगरपालिका हुँदा सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्ने कार्य शुरुवात गर्ने तयारी भईरहेको थियो । त्यसलाई म अध्ययन गरी काम अघि बढाउनेछु । केन्द्रिय सरकारले नै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने बारे लोकप्रिय कार्यक्रम ल्याएको छ । त्यसलाई कार्यान्वयनका लागि कुनै ढिलाई हुनेछैन । धरानमा जो जहाँ बस्नुभएको छ, उहाँ त्यही भुमिको मालिक बन्नुपर्छ भन्ने नै हाम्रो मान्यता हो । यसविचमा अव्यवस्थित बसोबासको तथ्याङ्मा फेरबदल पक्कै भएको छ । म नगरको नेतृत्वमा आएपछि तथ्याङ्क अद्यावधिक गर्ने कार्यलाई तत्काल अघि बढाइनेछ ।
दलित, अपाङ्ग, वृद्धवृद्धा, एकल महिलाहरुका लागि विशेष कार्यक्रमको योजना छ की ?
-नेपाल -सरकारले विगत देखि समाजका फरक क्षमता भएका वा विशेष समुदायलाई विशेष सुविधा दिँदै आएको छ जस्तै अपाङ्ता भएका व्यक्ति, वृद्धवृद्धा, एकल महिला लगायतलाई मासिक भत्ता दिँदै आएको छ । यस आर्थिक वर्षदेखि यसमा वृद्धि पनि भएको छ । यो अत्यन्तै लोकप्रिय कार्यक्रम हो जसले नेपाल सरकार मेरो आफ्नै सरकार हो भन्ने अनुभूति उहाँहरुलाई भएको छ । पहिलो काम त यो सेवा सुविधालाई वडा र टोलस्तरसम्म व्यवस्थित गर्ने नै हुनेछ । स्थानिय सरकारका नाताले हामी यतिमै चुप बस्ने अवस्थामा छैनौँ किनभने समाजका यी समुदायले पनि नगर सरकारको अनुभूति हुनसक्नुपर्छ । म विजयी भएर आएपछि नगरपालिका र माताहतका निकायका आवश्यक ठाउँमा दलित, अशक्त, वृद्धवृद्धा, एकल महिला, अपाङ्ग व्यक्तिहरुका लागि हेल्प डेस्कको व्यवस्था गर्ने योजना बनाएको छु ।
यो चुनावलाई हारको चुनौति वा जितको अवसर, कुन रुपमा लिनुभएको छ ?
-म वि.सं. २०३५ सालदेखि धरानमा राजनिती गरिरहेको छु । थुप्रै चुनाव र राजनिति भोगेको छु । मेरो व्यक्तिगत हिसाबले पनि र हाम्रो पार्टीको सन्दर्भमा पनि यो चुनाव चुनौतिको रुपमा मलाई कुनै हालतमा लागेको छैन । पार्टीले विकास निर्माणका सम्बन्धमा लिएका नितीहरुका आधारमा म सुरक्षित अवस्थामा रहेकोले मैले चुनौतिका रुपमा स्विकार गर्न आवश्यक छैन । मलाई हारको कल्पना समेत छैन । सम्पुर्ण धरानवासीले मलाई चिन्नुभएको छ । म धरानवासीको मर्दापर्दाको साथी हुँ । उहाँहरुको दैनिक जीवन सहज बनाउन म समर्पित भएर काम गर्नेछु भनेर उहाँहरुले बुझ्नुभएको छ । त्यही आधारमा उहाँहरुले मलाई भोट दिनुहुनेछ र मलाई जिताउनुहुनेछ । म जित्ने कुरामा ढुक्क छु । मलाई भोट दिने धरानवासीको भोट खेर जानेछैन भन्नेमा म स्पष्ट छु । धन्यवाद ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।