
धरानमा हुन गईरहेको उपनिर्वाचनको सन्दर्भमा नागरिक समाज, राजनितिक दल, उम्मेदवार तथा संचारकर्मीहरुसँगको सर्वदलीय छलफलमा धरानका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले यस्तो आग्रह गरेका हुन् ।
प्रचारको क्रममा फाट्ट फुट्ट आचारसंहिता उलंघन हुन थालेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले बताए ।
छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती, सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, एसपी यज्ञविनोद पोखेलले सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिताको बिषयमा राजनीति दलका उम्मेदवार तथा प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
मत परिणाम नआए सम्म ९ बजे सम्म मात्रै होटल रेस्टुरेन्ट खुल्ने
उपनिर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म धरान क्षेत्रको होटल तथा रेस्टुरेन्टहरु राति ९ बजेसम्म मात्र सञ्चालन हुने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानले गरेको सर्वदलीय बैठकमा सुरक्षाको कारण राती ९ बजेसम्म मात्र होटल तथा रेस्टुरेन्ट खुला गर्ने सहमति भएको हो ।
घरदैलो अभियान सकेर कार्यकर्ताहरुलाई होटल तथा रेस्टुरेन्टमा लैजाने गरेको त्यसले झै–झगडा भएको भन्दै राति ९ बजेसम्म मात्र होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सुरक्षा निकायले प्रस्ताव राखेकामा राजनीतिक दलहरुले सहमति जनाएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सोमबारदेखि यो निर्णय लागु हुनेछ । जसअनुसार अहिले राती ११ बजेसम्म खुला रहने धरानको होटल तथा रेस्टुरेन्टहरु अब राती ९ बजे नै बन्द गर्नुपर्नेछ । निर्वाचनको अन्तिम मतपरिणाम नआउदासम्म यो नियम लागु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोख्रेलले बताए ।
विकास निर्माणका काम पनि स्थगित
उपनिर्वाचनको समयावधिभर विकास निर्माणका कामहरु पनि रोकिने बताइएको छ । पहिलेदेखि नै संचालनमा रहेका विकास निर्माणका कामलाई भने नरोक्ने तथा नयाँ र हालसालै सुरु भएका विकासे काम मंसिर १५ गते सम्म स्थगित गर्ने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए ।
उपमहानगरका कर्मचारी र शिक्षकलाई नखटाईने
विगतका निर्वाचनमा धरान उपमहानगरपालिकाका कर्मचार र शिक्षक शिक्षिकाहरुलाई पनि निर्वाचन आयोगले मतदान केन्द्रहरुमा कर्मचारीको रुपमा खटाउने गरेको थियो । तर यो पटकको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाका कर्मचारलाई नखटाइने भएको छ ।
यसपटक धरानमा ९९ मतदान केन्द्र र मतदान स्थल २८ वटा निर्धारण गरिएको छ । धरानमा कुल ९२ हजार ८ सय ५३ जना मतदाता छन् ।@नागरिकखबर बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।