२०८० मंसिर २४ आईतवार

वडा ७ मा नवनिवार्चित अध्यक्षद्धारा पदवहाली, गरिबलाई विद्युतीय चुला र खानेपानी मिटर जडानमा अनुदान दिने

धरान । धरानको वडा न. ७ को वडाअध्यक्षमा निवार्चित अध्यक्ष जीवनराज सुवेदीले आज पदवहाली गरेका छन् । दिउँसो १ बजेको साइतमा वडा कार्यालयमा एक कार्यक्रमबीच अध्यक्ष सुवेदीले पदवहाली गरेका हुन् ।

अध्यक्ष सुवेदी मंसिर १४ गतेको उपनिर्वाचनमा १ भोटले मात्र अध्यक्षमा निवार्चित भएका थिए । नेकपाबाट उम्मेदवारी दिएका सुवेदीले कांग्रेसका सुवर्णमोहन पलिखेलाई पराजित गरे । सुवेदीले ६ सय २२ मत पाएका थिए भने पलिखेले ६ सय २१ मत पाएका थिए । पद वहाली गरेपछिको वैठकले वडा कार्यालयले विपन्न तथा दलित परिवारलाई विद्युतीय चुलामा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार विपन्न वर्गलाई खानेपानी मिटर जडानमा गर्दा पनि ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । ‘दलित परिवारलाई विद्युतीय चुलामा र विपन्न वर्गलाई खानेपानी मिटर जडानमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं,’उनले भने,‘विपन्न परिवारलाई यसले राहत मिल्छ भन्ने आशा छ ।’

भरखरै सम्पन्न उपनिर्वाचनमा एक मतले वडा अध्यक्ष पदमा बिजयी बनेका जीवन सुबेदी

नेकपा नेतृत्वको उपमहानगरपालिकाले राम्रो काम गरेको भएपनि जनतालाई बुझाउन नसक्दा आलोलित हुनु परेको र उपनिर्वाचनमा हार भएको धारणा पनि राखे । उनले झण्डै १५ बर्षसम्म कर्मचारी नेतृत्व हुँदा उपमहानगरमा धेरै फोहोर थुप्रिएको र अढाई बर्षमा सफा गर्न नसक्दाको दोषको भागिदार पनि चुनाव नेकपाले भोग्नुपरेको बताए । ‘हामीले राम्रो काम नगरेको होइन, तर जनतालाई बुझाउन सकेनौ । १५ बर्षसम्म कर्मचारी नेतृत्व हुँदाको फोहोर थियो, अढाई बर्षमा सफा गर्न पनि सकेनौं,’उनले भने,‘जनताको पनि धेरै आशा थियो, एकै पटक पुरा हुन सकेन । क्रमशः पुरा गर्दै जाने हो । आफ्नो पनि कमजोरीहरु भए । तर, अब पार्टीसँग छलफल गरेर सुधार गछौं, हामीमाथि लागेको आरोप खण्डन गछौं ।’

सुवेदी वडा नं ७ को अध्यक्षमा दोस्रो पटक निवार्चित भएका हुन् । उनी यसअघि २०५४ सालमा पनि सोही वडाको अध्यक्षमा निवार्चित भएका थिए । गएको स्थानीयतह निर्वाचन २०७४ मा पनि उनी वडा सदस्य पदमा निवार्चित भएका थिए । वडा नं ७ का अध्यक्ष भुवनराज मोक्तानको २०७५ जेठ २ गते निधन भएपछि सुवेदी कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा थिए । वडाअध्यक्षको पनि उपनिर्वाचन हुने भएपछि उनले वडा सदस्य पदबाट राजिनामा दिएर अध्यक्ष पदमा नेकपाबाट उम्मेदवारी दिएका थिए ।

२०७६ मंसिर १८, बुधबार ११:२८ गते 0 Minutes 38 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।