२०८० आश्विन १४ आईतवार

काठमाडौमा गुञ्जियो बादलदेवी चाम्लिङका हृदयस्पर्शी कविताहरु

  • प्रकाश दिप्साली राई 

नडाहा । पूर्वाञ्चलको बेलबारीमा रहेर कविता लेखनमा निरन्तर सक्रिय कवि वादलदेवी चाम्लिङको हृदयस्पर्शी कविताहरु गत शुक्रबार काठमाडौमा गुञ्जियो ।

जनसाहित्य लेखक संघ नेपालले बागबजार काठमाडौमा आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’को ६२ औं श्रृंखलाका निम्ति कवि वादल चाम्लिङको एकल कविता वाचनको कार्यक्रम आयोजना गरिएको थियो । जहाँ उनले एक दर्जन आºना लोकप्रिय नयाँ तथा पुराना कविताहरु सुनाइन् । एकल वाचनको ढोका उनले नयाँ कविता ‘बोक्सि’बाट खोलिन् ।

‘यो समाज
कुची र रङ लिएर क्यानभास अगाडि बस्यो ।
चरित्र रेखा कोर्दै गयो
नाक,मुख,आँखा राखेपछि मोहडा देखियो
घाँटी
छाती
हुँदै
शरिरको तल्लो भाग देखाउन कुची दौडाउन थाल्यो ।
कम्मर
नितम्व हुँदै पैतालाले जमिन टेक्यो
मलाई लाग्यो
अरु अँटोको धर्ती अब उसको पनि हुने भयो ।
……………..
यति सम्म आईपुगेपछि
अशुभले साम्राज्य जमाइसकेको थियो
ठुलो भिड अलग्गै पर बसेर यो तमासा हेरिरहेको थियो ।
…………
यसरी यो समाजले आफु खुशी एउटा आकृति उतार्याे
र नाम दियो
बोक्सी ।’

यो सँगै दृष्यमा उनी, घर, प्रकृती, मेरो गाउँ, गाउँकी मेरी सुनदर भाउजु, आमा, पाठेघर लगायतका कविता वाचन गरिन् । यस्तै उनलाई रोजिना बज्रचार्य र अनिता लामाले कविता वाचनमा सघाए । उनका प्रत्येक कविता वाचन भैरहँदा हल सियो खस्दा आवाज आउला झैं हुन्थ्यो अनि कविता सकिने बित्तिकै गडगडाहट ताली बज्थ्यो र ती कविताहरुलाई श्रोताहरुले आफ्नै सम्झन्थे ।

बादलदेवी चाम्लिङको कविता माथि बोल्दै प्राज्ञ तथा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ लक्ष्मी मालीले बादलदेवी चाम्लिङको कविता समाज परिवर्तनको पक्षमा रहेको र समाजको दृष्य राम्ररी टिप्न सक्ने खुबी रहेको बताउँदै यो स्तरको नारी हस्ताक्षर पाउनु यो समयको नेपाली साहित्यको सबैभन्दा अब्बल पक्ष रहेको बताइन् ।

२०७६ मंसिर १८, बुधबार १४:३२ गते 0 Minutes 31 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।