
काठमाडौं । प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्न सफल भारत सिक्किमको पूर्वमुख्यमन्त्री पवन चाम्लिङ राईलाई किरात राई यायोक्खा नेपालले देशकै प्रतिष्ठित यलम्बर स्मृति पुरस्कार ५०८० बाट सम्मान गर्ने भएको छ ।
निर्वाचनमा जनताको मन जितेर निरन्तर यति लामो सत्तामा पुग्ने व्यक्ती विश्वमै विरलै पाइन्छ । आफ्नो कार्यकालमा सिक्किमको बिकास निर्माणको कार्यमा उदाहरणीय काम गरेर किरात राई जातीको गरिमा उच्च बनाउने कार्य गरेको भन्दै दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले बताए ।
यो राशीसहितको सम्मान सामाजिक संस्थाहरूमा नेपालकै प्रतिष्ठित र सर्वाधिक राशी रहेको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको दावी छ । प्रत्येक बर्षको माघ १ गतेलाई किरातीहरुले यले सम्बतको नयाँ बर्ष मान्दै आएको छ । आगामी माघ १ गतेदेखि यले सम्बतको ५०८० लाग्दैछ ।
यले नयाँ बर्ष मनाउने क्रममा यायोक्खा केन्द्रीय समितिले काठमाडौको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरि सिक्किमको पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई सम्मानित गर्ने निर्णय भएको हो ।
चाम्लिङ सत्तामा हुँदा किरात राई, लिम्बूको मात्र नभएर सिंगो आदिवासी जनजातिको भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा ठूलो योगदान पुर्यायको यायोक्खाको ठहर छ ।
यो पुरस्कार यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गरेका डा. नोवलकोशोर राईलाई सम्मान गरेको थियो ।
पुस ८ गते यायोक्खा केन्द्रीय बैठकले यले सम्वत ५०८० लाई प्रदेश नं १ किरात प्रदेश अभियानकै रुपमा मनाउने र देश, विदेशमा सोही अनुसार मनाउन सर्कुलर भएको महासचिव राईले बताए ।
कार्यक्रममा किराती राई जातीको इतिहास र संस्कृति झल्काउने गरि सांस्कृतिक सामग्री प्रदर्शन गर्नुको साथै सांस्कृतिक कार्यक्रम हुने उपमहासचिव भीम राईले बताए । कार्यक्रम भब्य बनाउन ८ वटा उपसमितिहरु गठन भएको छ ।
सिक्किममा गत जेठमा भएको विधान सभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम देमोक्रेटिक फ्रन्ट, मोहन गोलेको पार्टी सिक्किम क्रन्तिकारी मोर्चासँग पराजित भएको थियो । त्यहा रहेको ३२ सिट मध्ये गोले नेतृत्वको पार्टीले १७ सिट जितेपछी चाम्लिङ सत्ताबाट भर्खरै बाहिरीएका हुन् ।@अर्जुन जम्नेली
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।