२०८० आश्विन १२ शुक्रबार

भ्रमण वर्ष २०२०को भव्य सुरुआत, प्रदेश १ लाई गुणस्तरीय पर्यटन गन्तव्य बनाउने उद्घोष

विराटनगरको सहिद रंगशालामा बुधबार मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको औपचारिक सुरुआत गर्नुभएको छ ।
प्रदेशका हजारौं नागरिक, सरकारका मन्त्री तथा सरोकारवालाहरुको भव्य उपस्थितिमा उहाँले उद्घाटन गर्दै प्रदेशलाई उत्कृष्ट गन्तव्य बनाउने प्रतिबद्धता जनाउनु भएको छ । मुख्यमन्त्री राई र पर्यटनमन्त्री जगदिशप्रसाद कुसियतले प्रदेशको भ्रमण वर्षलाई सफल पार्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शेरधन राईले यो वर्षलाई समृद्धिको आधार वर्ष बनाउने योजना रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले उद्घाटन समारोहमा गर्नुभएको सम्बोधनको सम्पादित अंश यहाँ प्रस्तुत छ–

यो वर्ष नेपालको, हामी नेपालीको सुख र समृद्धिको बलियो जग हाल्ने वर्ष हो । त्यसैले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउदै सुख र समृद्वि हासिल गर्ने यात्रामा सरिक हुन र सक्रिय योगदान गर्न आजको यस समारोहमार्फत यहाँहरु सम्पुर्णमा हार्दिक आव्हान र अपीलसमेत गर्न चाहन्छु ।

हामी सबैलाई थाह छ नेपाल बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक मुलुक हो । भौगोलिक, प्राकृतिक तथा सामाजिक विविधतायुक्त विशेषताले भरिएको र सजिएको सुन्दर देश हो । मनोरम हिमश्रृंखला र प्राकृतिक छटाहरुले भरिपूर्ण हाम्रो देश संसारको आकर्षणको केन्द्र बन्न सक्दछ । विश्वभरका मानिसहरुको मन लोभ्याउने प्रकृति, संस्कृति एवम् संस्कार हामीसंग छन् ।

नेपालको प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष, २०२० को घोषणा गरेको छ र आजबाट त्यो समय शुरु भएको छ ।
देशमा गरिबी निवारण, रोजगारी सिर्जना तथा समावेशी विकाससमेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्त्वपूर्ण आयाम भएकोले प्रदेश नं १ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित यस पर्यटन भ्रमण वर्षलाई सफल बनाउन प्रदेश नं १ सरकारले पनि यस वर्ष ५ लाख पर्यटक प्रदेशमा भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको शुभारम्भ गरिरहेका छौ ।

प्रदेश सरकारले आफ्नो आवधिक योजनामार्फत हाल यस प्रदेशमा पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा पुरयाएको १ ।९३ प्रतिशतको योगदानलाई आगामी पाँच वर्षमा ५ प्रतिशत पुरयाउने र प्रत्यक्ष रुपमा ३२ हजारलाई दिइरहेको रोजगारीको संख्यालाई तेब्बर पुरयाउने लक्ष्यकासाथ भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले संघीय र स्थानीय सरकार तथा निजी तथा गैर सरकारी क्षेत्रसंग सहकार्य गरेको छ ।

आजको यस शुभारम्भ कार्यक्रममा भएको उपस्थितीले नेपाल भ्रमण वर्षलाई सार्थक, सफल र लक्ष्योन्मुख बनाउन आम जनसमुदायको सहभागीता र सहयोग रहेको प्रमाणित भएको छ, यो हामि सबैको लागि हौसला र प्रेरणाको विषय हो।
हामीसंग नेपालको सबैभन्दा होचो भाग केचनाकवल छ । संसारकै होचो उपत्यका अरुण उपत्यका पनि हामी संगै छ । प्रदेश नं १ विश्वकै सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ अग्ला हिमालहरु, मनै लोभ्याउने हिमाली क्षेत्र, नागवेली पहाडहरु र फाँटिलो तराई क्षेत्र रहेको भौगोलिक विविधता सहितको संगमयुक्त प्रदेश हो।
सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कंचनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्र पनि यही प्रदेशमा अवस्थित छन । यो प्रदेश ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक र जैविक विविधताले धनी छ ।

यो प्रदेश उत्पादनका दृष्टिले पनि अब्बल प्रदेश हो । चिया, अलैची, अदुवा जस्ता अन्तर्राष्ट्रिय बजारमा माग भएका उत्पादनहरु यस प्रदेशमा छन् । कृषि उत्पादनमा सबैभन्दा अगाडी छ यो प्रदेश । खाडी कपडा, अल्लो, काठ, बेत, बाँसबाट बनेका सामाग्री विदेशीहरुका लागि पनि प्रिय छन्।
मनोरञ्जन, खेलकुद, पारिवारिक भ्रमण, पिकनिक स्पटका लागि प्रदेश नं १ मा पर्याप्त स्थानहरु छन्। धार्मिक९सांस्कृतिक अध्ययन अनुसन्धानका लागि खानी नै हो यो प्रदेश।
हामीसंग बराह क्षेत्र, हलेसी, पाथिभरा जस्ता ठुल्ठुला धार्मिक तीर्थस्थलहरु छन्। भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे मिल्के जलजले, कन्याम, सभापोखरी, नाम्चे,दुधकुण्ड, सिलिचुंग साल्पा पोखरी, पत्ताले जस्ता मनै लोभ्याउने प्राकृतिक स्थलहरु छन् ।

त्यसैगरी बिराट र किराँत दरबार क्षेत्रहरु पनि यस प्रदेशमा अवस्थित छन । थुप्रै तालतलैया, पोखरी, झरना र सिमसार क्षेत्रहरु छन । यसरी ती क्षेत्रहरुको प्रचारप्रसारलाई तिब्रता दिंदै सामान्य पूर्वाधारहरुको विकासले मात्र पनि यी स्थानमा लाखौं स्वदेशी विदेशी पर्यटक आउन सक्दछन ।
प्रदेश सरकारले पर्यटकीय पूर्वाधारको विकासलाई उच्च महत्व दिएको छ । नाम्चे(चौरीखर्क,दुधकुण्ड केवलकार, धरान भेडेटार केवलकार, केचना टु सगरमाथा फास्ट ट्रयाक, भेडेटार स्काई वाक, मुन्धुम ट्रेल मार्ग, हिमालयन पदमार्ग निर्माण, होम स्टे निर्माण, चतरा९ दोलालघाट र तुम्लिङ्गटार जलमार्ग प्रदेश सरकारले अघि बढाएका रुपानतरणकारी परियोजनाहरु हुन, कार्यक्रमहरु हुन्, जसले पर्यटन प्रवर्द्धनका माध्यमबाट प्रदेशको मुहार फेर्न सक्छन् भन्ने हाम्रो पुर्ण बिश्वास छ ।

नेपाल सरकारले घोषणा गरेको १०० गन्तब्य मध्ये यस प्रदेशमा परेका १६ वटा पर्यटकीय गन्तब्य स्थलहरुको अतिरिक्त यस प्रदेशका १४ वटै जिल्लाका प्रमुख गन्तब्य स्थलहरुको पहिचान गरी पर्यटन प्रर्बदन र पुर्बाधार बिकास सहित प्रदेश सरकारले आगामी १० बर्ष भित्रमा संसारकै सुन्दर पर्यटकीय गन्तब्य स्थलको रुपमा प्रदेश नं १ लाई बिकास गर्न चाहेको र सोही अनुसार गुरुयोजना तयार गर्ने छ ।

आउँदो मे महिनामा सगरमाथा दिवसको अवसर पारेर हामि यस प्रदेशमा सगरमाथा आरोहरण गरेका राष्ट्रिय९अन्तर्राष्ट्रिय पर्वतारोहीहरु सम्मिलित “समिटर्स समिट” आयोजना गर्दै छौं। यसले यो प्रदेश र सिंगो नेपाललाई विश्व सामु चिनाउन थप मद्दत गर्ने छ। साथै यस सम्मेलनको माध्यमबाट सिंगै देशमा अनि हा म्रो प्रदेशमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढ्ने विश्वास हामीले गरेका छौ।
नेपाल भ्रमण वर्ष २०२० कै अवसर पारेर यसै प्रदेशबाट अन्तर प्रादेशिक हवाई सेवा आगामी फ्रेब्रुवरी १ बाट बिराटनगर पोखरा उडान हुन गइरहेको छ ।

भ्रमण बर्षमै प्रदेश सरकारले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्नेछ। यसमा चलचित्र अलावा सांगितिक महोत्सव पनि हुनेछ। प्रदेशमा पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरको खेलकूद कार्यक्रम आयोजना गर्ने सोच पनि हामिले राखेका छौ।

प्रदेश सरकारले बहुजातीय संग्रहालय स्थापना गर्दैछ। यसमा विभिन्न जात९जातिका ऐतिहासिक भेषभुषा, सामाग्री, युद्धमा प्रयोग भएका औजार, भाषा, लिपी, ग्रन्थहरु राखिने छ । नेपालको ऐतिहासिक, जातीय, सांस्कृतिक विषयको अध्ययन अनुसन्धानमा रुची राख्ने राष्ट्रिय९अन्तर्राष्ट्रिय व्यक्तिहरुको लागि यो ज्यादै महत्वपूर्ण हुनेछ जुन पर्यटन प्रवर्द्धनको आधार पनि हुनेछ ।

उल्लेखित सबै प्रयासहरुमा निजी क्षेत्रका उद्यमी, पर्यटन व्यवसायी, सामाजिक अभियन्ताहरु, कृषि व्यवसायीहरु, खेलाडी, युवा, बिधार्थी, महिला लगायत सबैको सार्थक सहभागिता र योगदान हुनेछ। खासगरी निजी क्षेत्रका पर्यटन व्यवसायी तथा उद्यमीहरुको सहयोग र साझेदारी रहने अपेक्षा सरकारले गरेको छ ।
नेपाल भ्रमण वर्ष सरकार तथा निजी क्षेत्रका संयुक्त कार्यक्रमबाट नै सफल हुनेछ। उद्यमी व्यवसायीहरुलाई पर्यटन प्रवर्द्धनका प्याकेज अघि बढाउन यस अवसरमा म हार्दिक अपिल गर्दछु। सरकारले यसमा पूर्ण साथ र सहयोग दिनेछ।

sdr

२०७६ पुष १६, बुधबार १६:१५ गते 0 Minutes 67 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार