२०८० जेष्ठ १८ बिहीबार

नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामीलाई सहज

बिराटनगर। नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो ।

पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन् । आफ्नै क्षेत्रमा स्तरीय सेवा पाउँदा धेरै सहज भएको भन्दै बिरामीहरुले खुशी व्यक्त गरेका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएका मोरङको पथरीशनिश्चरेका सूर्यबहादुर राईले आफ्नै जिल्लामा मुटुको जटिल शल्यक्रिया गराउँन पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिए । ‘अन्त जानु परेको भए गाह्रो हुने थियो, चिनेजानेकै आफ्नै ठाउँमा भएकाले धेरै सजिलो भयो ।’ उनले भने ।

अन्यत्र टाढा जाँदा धेरै झन्झट व्यहोर्नुपर्ने भएपनि आफ्नै ठाउँमा सहज रुपमा स्तरीय सेवा पाउँदा धेरै राहत महसुस भएको भन्दै झापाको भद्रपुरकी भीमादेवी खनाल र बिर्तामोडकी दिलमायाँ प्रसाईले खुशी व्यक्त गरे । नोबेलमा राम्रो उपचार हुँने सुनेर भारतको अररियाबाट आएर ओपन हार्ट सर्जरी गराएका सुरेश प्रसाद सिंहले सोचेको भन्दा राम्रो उपचार पाएको बताए ।

नोबेलले सेवा सुरु गरेपछि स्तरीय ओपन हार्ट सर्जरीका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको नोबेल शिक्षण अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् । गत असार महिनाबाट नोबेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको हो । त्यसयता २० जना बिरामीको छाती चिरेर मुटुको सफल शल्यक्रिया गरिएको छ । नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामी बढी लाभान्वित भएका छन् ।

शरिरको महत्वपूर्ण अंग भएकाले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिने भएपनि गंभिर समस्या भएकाहरुलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

२०७६ माघ ११, शनिबार ११:३१ गते 0 Minutes 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।