
काठमाण्डौ / उत्तरी छिमेकी मुलुक चीनमा फैलिएको रहस्यमयी कोराना भाइरसले महामारीको रुप लिएपछि स्वदेश फर्किन नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासलाई निवेदन दिएका छन्।
दूतावासले शनिबार नेपाल फर्किन चाहनेलाई निवेदन दिन आह्वान गरेपछि चीनको हुबोइ प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्किन निवेदन दिएको जनाएको छ।
हुबोइ प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखा परेको थियो। अहिले सो भाइरसबाट सबैभन्दा प्रभावित सो शहर बनेको छ। तर, चीनका सबै शहर कोरोना भाइरस प्रभावित भइसकेका छन्। चीनमा आइतबारसम्म ३०४ जनाको सो भाइरसकै कारण मृत्यु भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन्।
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरेको हो। नेपालले उनीहरुलाई स्वदेश फर्काउने तयारी गरेपछि बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेबाट आवेदन मागेको थियो।
चीनबाट फर्किन चाहनेले आवेदन दिए पनि नेपालमा त्यसको आवश्यक तयारी पूरा नहुँदा कहिले फर्काइन्छन् भन्नेबारे भने निश्चित भएको छैन।
चीनबाट फर्किएका सबैलाई कम्तिमा १५ दिनसम्म छुट्टै राखेर उपचार गर्नुपर्ने भएकाले सरकारले त्यसको चाँजोपाँजो मिलाउन सकेको छैन।
सरकारले यसरी चीनबाट फर्काइएकाहरुलाई राख्ने चाँजोपाँजो मिलाउन सेनाको सहयोग लिने तयारी गरेको स्रोतले बतायो। सेनासँग स्वास्थ्य मन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरुको लगातार बैठक चलिरहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।