
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को आज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटनका गरेका छन।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राईले भने, “देश सङ्घीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।” यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उनले जनतालाई छल्ने र वाहना बनाउने कुनै छुट नभएको बताए ।
अहिले सङ्घीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ । गृह जिल्ला आएका मुख्यमन्त्री राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको बताए । अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।
‘जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन’, उनले भने । अहिले साना योजनाका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उनले ठूला लगानीका योजनालाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसँग रहेकाले विकास भएन भनेर नडराउन आग्रह गरे ।
जनताको भलाइलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उनले भोजपुरको शिर उच्च राख्ने गरी आफूले प्रदेशको नेतृत्व गरिरहेको बताए । ‘मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईँहरुले म माथि गर्नुभएको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।’
उनले गाउँपालिकाको आयोजना गरेको महोत्सवले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन टेवा मिल्ने बताए । पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्यका साथ आयोजना हुने यस्ता मेला महोत्सवले स्थानीय सरकारलाई आर्थिक रुपमा मजबुत बनाउने उनको भनाइ थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।