२०८० चैत्र १५ बिहीबार

विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मीसँगै छैन सेफ्टी किट

काठमाडौं । सोमबार कोरोनाको (कोभिड १९) संक्रमण देखिएको देशबाट एक नागरिक त्रिभुवन विमानस्थलमा ओर्लिए ।

विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्य स्क्रिनिङ गर्दा उनलाई ज्वरो देखियो । कोरोनो आशंका गर्दै त्यहाँ कार्यरत चिकित्सकहरुले उनलाई टेकु अस्पताल जान सुझाए । उनी पनि अस्पताल जान तयार भए ।

तर, उनलाई अस्पताल लान एम्बुलेन्स चालक तयार भएनन् । चालकले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) उपलब्ध नभएसम्म एम्बुलेन्स नचलाउने अडान लिए । त्यही कारण उनी करिब २ घण्टा  विमानस्थलमै बस्नुपर्‍यो । कमजोर व्यवस्थापनका कारण झमेला बेहोर्नुपर्दा उनी त्यहाँ कार्यरत चिकित्सकहरुसँग रिसाए । अन्तत: चिकित्सकहरुले एम्बुलेस चालकलाई काउन्सिलिङ गरेर ‘पीपीई’ उपलब्ध गराए ।

अनि मात्र चालकले कोरोना संक्रमण देखिएको मुलुकबाट आएका ती नागरिकलाई टेकु अस्पताल पुर्‍याए । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

डब्लुएचओकाअनुसार स्क्रिनिङमा खटिने कर्मचारीहरुले  मास्क, ग्लोब्स, चस्मा, गाउन, खुट्टामा लाउने बुट, ह्याण्ड स्यानिटाइजर र  डिसइन्फेक्सन स्प्रे अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । तर विमानस्थलमा खटिएका चिकित्सकहरुसँग मास्क र ग्लोब्स समेत पर्याप्त छैन ।

तर एम्बुलेन्स चालकमात्र होइन, विमानस्थल हेथ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) पर्याप्त नभएकाले त्रसित बनेका छन् । विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक चिकित्सक भन्छन्, ‘संक्रमित देशबाट संक्रमणको आशंका भएका मानिसहरु आउने क्रम बढी छ, तर हामी स्क्रिनिङमा बस्दा मास्क र ग्लोब्समा मात्र लगाएर टेस्ट गर्नुपर्छ । यसले हामी पनि डर लागिरहेको छ ।’

उनकाअनुसार सरकारले सिमित मात्र पीपीई उपलब्ध गराएको छ, जुन हेल्थ डेस्कमा खटिएका सबै कर्मचारीका लागि पर्याप्त छैन । त्यसैले मनमा डर बोकेर विमानस्थलमा आउने यात्रुहरुलाई स्क्रिनिङ गर्नुपर्ने बाध्यता छ ।

आइतबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हेल्थ डेस्कमा जम्मा ११ जना स्वास्थ्यकर्मीले काम गरिरहेका थिए भने एउटा मात्र थर्मल स्क्यानर सञ्चालनमा थियो । विमानस्थलको स्वास्थ्य जाँच प्रभावकारी नभएको गुनासो बढेपछि सरकारले थप ११ जना स्वास्थ्यकर्मी र इन्फारेड थर्मामिटर थप्यो । आइतबारदेखि हरेक यात्रुको व्यक्तिगत स्क्रिनिङ सुरु भयो ।

तर स्वास्थ्यकर्मी र थर्मोमिटर थपे पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड नपुर्‍याई चिकित्सक खटाइएको छ । विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक चिकित्सक भन्छन्, ‘ हाम्रो पनि ज्यानको सवाल छ, ज्यान जोखिममा राखेर कसरी काम गर्नु ?’

डब्लुएचओकाअनुसार स्क्रिनिङमा खटिने कर्मचारीहरुले  मास्क, ग्लोब्स, चस्मा, गाउन, खुट्टामा लाउने बुट, ह्याण्ड स्यानिटाइजर र  डिसइन्फेक्सन स्प्रे अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।

तर विमानस्थलमा खटिएका चिकित्सकहरुसँग मास्क र ग्लोब्स समेत पर्याप्त छैन । त्यहाँ खटिएका एक चिकित्सक भन्छन्, ‘कोरोना संक्रमित देशबाट मानिसहरु आइरहेका छन्, तर सरकारले कुनै पनि कुरामा डब्लुएचओको मापदण्ड पूरा गरेको छैन ।’

विमानस्थलमा खटिएका अर्का एक चिकित्सक ज्वरो नापेर मात्रै संक्रमित मानिस छिरे या नछिरे भन्न नसकिने बताउँछन् । उनकाअनुसार विमानस्थलमा यात्रा गर्दा यात्रुले औषधि खाएको छ भने ज्वरो नदेखिन सक्छ । त्यसैगरी ज्वरो नदेखिइकन पनि मानिसमा कोरोना संक्रमण हुनसक्छ । उनी भन्छन्, ‘सरकार साँच्चिकै देशमा कोरोनाबाट बच्न चाहन्छ भने कि विमानस्थल ‘लक डाउन’ गर्नुपर्छ, कि त संक्रमित देशबाट आएका सबैलाई क्वारेण्टाइनमा राख्नुपर्छ ।’

त्यसमा सहमत अर्का चिकित्सक भन्छन्, ‘ज्वरो नापेर  मात्रै विमानस्थलबाट संक्रमित छिरेनन् भन्नु भयानक गल्ती हुनेछ ।’

विमानस्थलको हेल्थ डेस्कदेखि थर्मल स्क्यानर भएको क्षेत्रमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किनुपर्ने डब्लुएचोको मान्यता छ । तर यो काम पनि अहिलेसम्म नभएको बताउँदै एक चिकित्सक भन्छन्, ‘ मास्क र ग्लोब्सको भरले कोरोनाको उच्च जोखिम भएको देशबाट आएका व्याक्तिको जाँच गर्नु भनेको चिकित्सकहरुले ज्यान जोखिममा राख्नु हो । र, हामीले ज्यान जोखिममा राखेर काम गरिरहेका छौं ।’

अहिलेसम्म ८१ भन्दा बढी देशमा कोरोना संक्रमण फैलिँदा ९५ हजारभन्दा बढी मानिस संक्रमण भएको पाइएको छ ।  विश्वभर ३ हजार २ सय मानिसको मृत्यु हुँदा ५३ हजार २ ७६ जना मानिस संक्रमण भएर पनि निको भएका छन् ।

२०७६ फाल्गुन २२, बिहीबार ०८:४७ गते 0 Minutes 73 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार