२०८० आश्विन १४ आईतवार

अपडेट : टेकुबाट भागेका कोरोना आशंका गरिएको बिरामी बिराटनगर पुगे !

काठमाडौं ।  कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् ।

प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ ।

सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबाइल ट्र्याक गरेर उनको लोकेसन पत्ता लगाएको हो ।

अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए । पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ ।

यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।

 

२०७६ फाल्गुन २२, बिहीबार १०:०७ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।