
धरान । धरान-४ स्थित भेडेटारमा व्यवसायिक जिपलाइनको सुरुवात भएको छ । साहासिक पर्यटकिय खेलको रुपमा लिइने जिपलाइनको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गरे । धरान–४ भेडेटारको डाँडाबाट देविथान डाँडासम्म करिब ६ सय ५० मिटर लामो जीपलाइन सनिबारबाट सुरु भएको हो । जीपलाइनको सुरुवातमा धरान उपमहानगरपालिकाकी उप-मेयर मञ्जु भण्डारी सुवेदीले जीपलाइन खेल खेलेका थिए । उहाँले धरानको साहासिक पर्यटनमा ठूलो टेवा पुग्ने बताए।
जीपलाइनको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा प्रदेशमै नयाँ साहासिक पर्यटन भित्रिएको भन्दै खुसी व्यक्त गरे । उनले नीजि क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढेको भन्दै प्रशंसा समेत गरे। करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान–४ ले निर्माण सुरु गरेका थिए । प्रालि सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गरेका हुन् । उनीहरुले धुलिखेलमा पनि व्यवसायिक रुपमा जिप फ्लाइङ गरिरहेका छन् । करिब ३ करोडको लगानीमा भौतिक निर्माण सम्पन्न गरेको प्रालिका सञ्चालकहरुले बताए ।
जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डीङ पोइन्टसम्म आइपुग्न करिब ३०–४० सेकेण्ड लाग्ने सञ्चालक राईले बताए । उहाँका अनुसार जिपलाइनमा ३ प्रकारको सुविधा हुनेछ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन हुन्छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन् । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ । प्रालिका सञ्चालक केदार थापा भन्नुहुन्छ –‘सुरुवाती चरण्मा हामी २० प्रतिशतसम्म छुट दिनेछौ । यसमा सबै उमेर समुहका मानिसले फ्लाइङ गर्न सक्छन र १०० प्रतिशत सुरक्षित समेत रहेको छ।
प्रालि सञ्चालक केदार थापाका अनुसार तारको क्षमता ११ हजार किलो भारको छ भने सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुने र साहसिक पर्यटकहरुको लागि ५ लाखको बिमा समेत हुनेछ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।