
एजेन्सी : माइक्रो ब्लगिङ साइट ट्वीटरमा हालैका दिनहरुमा एक नयाँ फिचरको परीक्षण भैरहेको छ । उक्त फिचर अन्तर्गत अब इस्टाग्राम स्टोरिज जस्तै २४ घण्टामा आफै हराउने खालका ट्वीट गर्न सकिनेछ ।
अहिले ट्वीटरले यो फिचर ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । २४ घण्टामा ट्वीट आफै डिलिट हुने ट्वीटरको यो फिचरलाई fleets नाम दिइएको छ. रोचक त के भने २४ घण्टामा आफै डिलिट हुने यस्तो ट्वीटलाई रिट्वीट गर्न सकिने छैन भने त्यस्ता ट्वीटमा लाइक अप्सन पनि हुने छैन । साथै यस्तो ट्वीटरमा गरिने रिप्लाइ सामान्य ट्वीटमा देखापर्ने कमेन्ट्सको रुपमा नभै ट्वीटकर्तालाई डाइरेक्ट मेसेजको रुपमा प्राप्त हुनेछ ।
अर्थात्, यस्तो खालका ट्वीटहरुमा पब्लिक रेस्पोन्स तथा पब्लिक डिस्कसनको कुनै गुञ्जायस हुने छैन । ट्वीटर प्रयोगकर्ताले चाहेको खण्डमा पर्सनल मेसेजलाई रिप्लाई पनि गर्न सक्नेछ ।
विद्यमान ट्वीटको सार्वजनिक तथा स्थायी स्वरुपका कारण ट्वीटर प्रयोग गर्न हिच्किचाउने नयाँ प्रयोगकर्तालाई लक्षित गरी ट्वीटरले यस्तो फिचर ल्याएको बताइएको छ । यसबाट ट्वीटरमा सार्वजनिक सम्वाद तथा अन्तर्क्रिया गर्न नचाहने प्रयोगकर्ताहरु आकर्षित हुने विश्वास ट्वीटरको छ ।
ट्वीटरको यो नयाँ फिचर स्नापच्याट, फेसबुक तथा इन्स्टाग्रामको स्टोरिज फिचरसँग मिल्दोजुल्दो छ, जहाँ २४ घण्टाका लागि फोटो तथा मेसेज शेयर गर्न सकिन्छ जुन पछि आफैं डिलिट हुन्छ । यो फिचर सोसल मिडियामा निकै लोकप्रिय पनि बनिरहेको छ ।
एक त माइक्रो ब्लगिङ साइट ट्वीटर फेसबुक तथा इन्स्टाग्राम भन्दा निकै फरक छ, अर्कोतर्फ यसका प्रयोगकर्ता पनि सम्वाद तथा सार्वजनिक बहस धेरै गर्दछन् । यस्तोमा नयाँ प्रयोगकर्ताहरु जसले आफ्नो ट्वीटरहरु स्थायी राख्न चाहँदैनन् र त्यसमा सार्वजनिक जवाफको अपेक्षा गर्दैनन् उनीहरुका लागि ट्वीटरको फ्लिट फिचर निकै फलदायी हुने बताइएको छ ।
हाल ब्राजिलमा परीक्षण भइरहेको यो फिचरलाई ट्वीटरले कहिलेदेखि आधिकारिक रुपमा सार्वजनिक गर्ने हो भन्ने चाहिँ खुलेको छैन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।