
-प्रकाश दिप्साली राई
‘म त्यही गर्विलो माटोमा उभिएको छु
जहाँ सुनाखरी र राताम्यै लालिगुराँसले
स्वागत गरिरहेछन्
मेरो शिरमाथि साङखामचुली
सिलिचुङ, ट्याम्के अनि
चोमोलोङमा मुस्कुराईरहेछन्
हो म त्यहीँ उभिएको छु
गर्वले छाती फुलाएर निश्चिन्त भई अडिएको छु
त्यही हतुवागढीको आलिङ्गनभरि
खेलिरहेको छु ।’
नडाहा । कोरोना भाइरसको हल्ला आतंक, चिसो मौसम, भुईकुहिरो छपक्कै छोपेको पात्लेपानी अनि वजनदार कवि तथा व्यक्तित्वहरुको गरिमामय उपस्थितिमाझ माथिको ‘म त्यहीं छु’ कविताको कवितांश कवि अल्पभाषि निरुले सुनाउँदै शब्द संगम –२०७६ को ढोका खोलिन् । र अघि बढ्यो स्थानीय रचना वाचनको सेसन ।
उनीसँगै कृपालसिंह राई, अरुण आकाश, नमुना राई, पूर्ण सन्ध्या समाधी, नमुना राई,चन्द्र राई तारा, रुद्र राई, स्वस्तिका राई लगायतले रचना सुनाउँदै हतुवागढीमा कवि कलाकारको उपस्थित छ भन्ने संकेत गरे।
पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढी –८, भोजपुरले आयोजना गरेको सो कार्यक्रममा कविता सुन्न र सुनाउन टाढा टाढाबाट आएका श्रष्ठा तथा सर्जकहरुको जमघटममा यूद्ध कवि काङमाङ नरेश राईको एकल कविता वाचन समेत गरे । सो एकल वाचनमा नरेशले नौवटा जति कविता सुनाए ।
आँशु जस्तै छ युद्ध कविता सुनाउँदा हल चकमन्न भयो ।
‘आँखाबाट अविरल नदी बगाउँदै
आफ्ना थर्थराएका हातले
फूलका माला लगाइदिँदै
उनी भन्छिन्–
जस्तो जाँदै हुनुहुन्छ
त्यस्तै फर्किनू युद्धबाट
थुप्रै छन् भन्नुपर्ने
तर, निस्कँदैनन् शब्दहरू
फुट्दैन बोली
निस्कन्छु क्वाटरबाहिर
र ड्याम्म बन्द गर्छु बिदाइको ढोका ।’
यो कविता सुनाइरहँदा स्वयम काङमाङ आफु पनि भावुक बने । त्यहाँ उपस्थित लाहुरे जीवन बिताएकाहरुले ती कविताहरुलाई आðनै कविता सम्झेर सुने । नरेशलाई अल्पभाषी निरु, राजन इशारा र अरुण आकाशले कविता वाचनमा सघाए । भने उनका कवितामाथि कलाकार तथा कार्टुनिष्ट ओम डिसिआरले गरेको पेन्टिङ पनि प्रर्दशन समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पहिचान पुरस्कार विजेता तथा मदन पुरस्कार विजेता राजन मुकारुङले हामी एकल भाषा र एकल साहित्यलाई अंगालिरहँदा यहाँका सिमान्तकृत, दलित, किनारीकृत समुदायलाई छायामा पारिएको र सोही कारण उनीहरुको कला साहित्य र संस्कृति माथि उठ्न नसकेको बताए । उनले थपे ‘नेपाल भित्रका कैयौं भाषा साहित्यलाई ओझेलमा पारेर अनि एकल साहित्यलाई नेपाली साहित्य भन्नपर्ने ?यहाँका टिपिकल कुराहरु, विभिन्न समुदायको भाषा र संस्कृतिलाई साहित्यमा अटायौं भने हाम्रो साहित्य अन्तराष्ट्रिय स्तरमा जान्छ । तर यो खालको हिरोइजम साहित्य कहिले माथि उठ्न सक्दैन ।’ कार्यक्रममा ध्यानकुमार राई, सुदन राई, सुनिता किराती, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई लगायतले बोलेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष मैया कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विश्वजित राईले राखेका थिए भने कार्यक्रमलाई प्रतिष्ठानका सचिव अर्जुन राईले गरेका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।