२०८० चैत्र १६ शुक्रबार

अष्ट्रेलियामा किन चुलिँदैछ ट्वाइलेट पेपरको अभाव ?

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरस १०० भन्दाबढी मुलुकमा फैलिएको छ भने ३६०० बढीको ज्यान गएको छ । भाइरसबाट प्रभावित बनेको एक मुलुक अष्ट्रेलिया पनि हो ।

अष्ट्रेलियामा संक्रमितको संख्या ७७ पुगेको छ भने तीन जनाको मत्यु भएको छ । भाइरसको त्राससँगै बजारमा हुनसक्ने अभावलाई ध्यानमा राख्दै मानिसहरुले उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । विशेषगरी ट्वाइलेट पेपरको जोहो गर्न थालेका हुन् ।

यही कारण बजारमा ट्वाइलेट पेपरको अभाव चुलिएको छ । ट्वाइलेट पेपर किन्न मानिसहरु लामो लाइनमा बस्न थालेका छन् । त्यतिमात्र होइन, ट्वाइलेट पेपर खरिद गर्न नपाएको झोंकमा विवाद तथा झगडा भएको पाइएको छ ।

अष्ट्रेलियाको समाचार पत्रिका एनटी न्यूजले ट्वाइलेट पेपरको अभावलाई मध्यनजर गर्दै ८ पेज खाली पाना वितरण गरेको छ । अष्ट्रेलियाको सरकारले भने मुलुकमा कुनै पनि किसिमको अभावको सम्भावना नरहेको बारम्बार बताउँदै आएको छ । तर पनि मानिसहरु ट्वाइलेट पेपरकै लागि लाइनमा बसेका छन् ।

किन फैलियो ट्वाइलेट पेपरको संकट ?

कोरोना भाइरसको अनावश्यक त्रासका कारण ट्वाइलेट पेपरको अभाव भएको अष्ट्रेलियाको न्यूजपोर्टल न्यूज डटकम डट एयू उल्लेख गरेको छ । समाचार अनुसार अष्ट्रेलियामा मागको ६० प्रतिशत ट्वाइलेट पेपर स्थानीय रुपमा उत्पादन हुन्छ । त्यसैले अहिले नै यसबारे डराउनुपर्ने आवश्यकता भने देखिएको छैन ।

तै पनि किन अभाव भयो त ? डेकिन यूनिभर्सिटीका मानव स्वfभावका विशेषज्ञ डा. पाउल ह्यारिशनका अनुसार अष्ट्रेलिया जस्तो पुँजीवादी संस्कृति भएको मुलुकमा मानिसहरु कुनै पनि समस्याको समाधान केही सामग्री खरिद गरेर गर्न चाहन्छन् । कुनै पनि संकटको समयमा निकै सजिलो उपायको खोजीमा रहने गर्छन् ।

अनुसन्धानका अनुसार मानिसले जतिबेला आफ्नो नियन्त्रण गुमाएको महसुस गर्छन्, त्यतिबेला उनीहरु आफ्नो ध्यान आफूले नियन्त्रण गर्नसक्ने साना कुराहरुमा लगाउँछन् । त्यसैको उपज अहिले अष्ट्रेलियामा ट्वाइलेट पेपरको अभाव भएको ह्यारिसनको भनाइ छ । मानिसमा भाइरसको कारण अहिले त्रास बढेको छ । यस्तोमा उनीहरु ट्वाइलेट पेपर अभावमा बाँच्न चाहँदैनन् । त्यसैले उनीहरु लामो समयसम्म पुग्ने ट्वाइलेट पेपर खरिद गरिरहेका हुन् ।

पछिल्लो समय अष्ट्रेलियामा राजनीति र संस्थाहरुप्रति मानिसको विश्वास पनि अहिलेसम्मकै कमजोर देखिएको छ । एक अध्ययनले अष्ट्रेलियामा ८० प्रतिशत मानिसहरु राजनीतिक तथा वित्त संस्थाहरुमा विश्वास गर्दैनन् । त्यसैले मानिसहरु आफ्नो सुरक्षा आफैंले गर्नु निकै जरुरी रहेको निष्कर्षमा पुगेका छन् ।

बीबीसीका अनुसार ट्वाइलेट पेपरको समस्या अष्ट्रेलियाको मात्र भने होइन । भाइरसले अष्ट्रेलियाभन्दा बढी प्रभाव भएका मुलुकहरु सिंगापुर, जापान र हङकङमा पनि छ । तर त्यहाँ अष्ट्रेलियामा जस्तो संकट भने देखिएको छैन । अष्ट्रेलियामा भने मानिसहरु आवश्यकता भन्दा बढी डराएको कारण यो अवस्था आएको हो ।

सामाजिक सञ्जाल र विभिन्न अफवाहले पनि मानिसहरुमा त्रास सृजना गरेको बीबीसीले उल्लेख गरेको छ । केहीले भने सबै अरुले उल्लेख्य मात्रामा ट्वाइलेट पेपर किनिरहेकाले आफूले पनि किन्न जरुरी महसुस गरेको बताएका छन् ।

साउथ वेल्स यूनिभर्सिटीकी प्राध्यापक नितिका ग्रेगले एसियाली मुलुकमा भने यस्तो आशंका नरहेको बताउँछिन् । उनकाअनुसार चीनमा मानिसहरु ट्वाइलेट पेपर अभाव भए टिस्यू पेपर वा अन्य केही विकल्पको प्रयोग गर्न सकिन्छ भन्नेमा ढुक्क छन् । त्यसैले अष्ट्रेलियामा ट्वाइलेट पेपरको अभाव हुनुपर्ने कारण छैन ।

२०७६ फाल्गुन २६, सोमबार १६:१४ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार