२०८० मंसिर २४ आईतवार

यूएईमा दुई नेपालीलाई कोरोना संक्रमण, कतारले प्रवेशमा रोक लगायो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । यद्यपि उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएका थिए । सोमबार नेपाली दूताबास भने बन्द थियो । त्यसैले कोरोनाबाट संक्रमित नेपालीबारे थप जानकारी प्राप्त भएको छैन ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई संक्रमण

यस्तै अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन ।

यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ । दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

कतारले प्रवेशमा रोक लगायो

यता कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक हो । तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट सम्पर्क गर्न आग्रह गरेको छ । दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न भनेको छ । हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ ।

२०७६ फाल्गुन २६, सोमबार १७:१० गते 0 Minutes 62 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।