२०८० फाल्गुन १४ सोमबार

कोरोना भाइरस मानिसले बनाएको हो ? गर्मी लागेपछि यो भाग्छ ? भ्रम र यथार्थ

एजेन्सी / कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् ।

संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा विश्व स्वास्थ्य संगठनले यसलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना संक्रमण भनेको छ । टिकटकसँग मिलेर उसले भ्रमहरू चिर्न कोशिश थालेको छ । कोरोनासम्बन्धी भ्रमहरू इन्टरनेटका कुनाकाप्चा अनि मूलधारका सञ्चारमाध्यम दुवैमा भेटिन्छन् ।

सामाजिक सञ्जाल वेबसाइटहरूले विश्वसनीय सूचनालाई अगाडि सार्न र मानिसलाई भ्रमित बनाउने विषयवस्तुलाई हटाउन कदमहरू चालिरहेको भए पनि उनीहरूलाई गाह्रै परिरहेको छ ।

अनि सेन्सरशिपका कारण र केही देशमा सरकारप्रतिको अविश्वासका कारण गलत सूचनाहरू झन् तीव्र गतिमा फैलिरहेका छन् । नयाँ कोरोनाभाइरसका सम्बन्धमा सत्य कुरा यसप्रकार छन् :

भ्रम : कोरोनाभाइरस मानिसले बनाएको हो ?

यथार्थ : इन्टरनेटमा भेटेका सबै कुरामा विश्वास नगर्नुस् । 

कोरोनाभाइरसको संक्रमण फैलिँदै गएर सार्वजनिक स्वास्थ्यमै संकटको स्थिति आएपछि भाइरस कहाँबाट शुरू भयो भन्ने विषयमा इन्टरनेटमा गलत सूचना प्रवाह हुन थाले । भाइरस प्राकृतिक रूपमा आएको नभई प्रयोगशालामा बनाइएको भनियो ।

भेरिफाइ नगरिएका सामाजिक सञ्जाल अकाउन्टहरूमा यस्तो भ्रम फैलाउन थालियो । समय बित्दै जाँदा भ्रम झनै व्यापक हुँदै गयो ।

चीनको एक प्रयोगशालाले गोप्य रूपमा जैविक हतियार बनाएको र त्यो लीक भएको भन्ने हल्ला फैलाइयो । अनि चीनको राष्ट्रवादी सामाजिक सञ्जालमा चाहिँ भाइरस अमेरिकामा बनाइएको र यस सीजनमा फ्लुका कारण मरेका अमेरिकीहरू खासमा कोभिड–१९ का कारण मरेको बताइयो ।

चीन र पश्चिमी मुलुक दुवैका वैज्ञानिकहरूले यी सिद्धान्तलाई पूरै खारेज गरेका छन् तर त्यसो गर्दा पनि यो हल्ला फैलिन छाडेको छैन । विज्ञहरूले भाइरसको वास्तविक स्रोत पत्ता लगाउने कोशिश गरिरहेका छन् । अनुसन्धानमा यो भाइरस चमेरोबाट उत्पत्ति भएर बीचमा अर्को एक प्राणीमा बसेर मानिसमा सरेको हुन सक्ने देखिएको छ । यस्तै किसिमको भाइरसले सन् २००३ मा सार्स महामारी फैलाएको थियो ।

भ्रम : घरेलु उपचारले कोरोनाभाइरसको उपचार वा रोकथाम गर्छ ?

यथार्थ : फाइदै गर्छ, तर रोकथाम गरेको प्रमाण छैन ।

लसुनले तपाईंलाई फाइदा गर्छ । पानीले पनि फाइदै गर्छ, भिटामिन सीले पनि । तर सामाजिक सञ्जालमा आएजस्तो गरी लसुन खाँदा, प्रत्येक १५ मिनेटमा पानी पिउँदा वा भिटामिन सी लिँदा मानिसलाई नयाँ कोरोनाभाइरसबाट बचाउन सकिन्छ भन्ने विषयमा कुनै प्रमाण छैन ।

अझ कसैकसैले त शरीरमा तिलको तेल लगाउँदा, अल्कोहल हाल्दा वा क्लोरिन राख्दा भाइरस मर्छ समेत लेखे । त्यो पूरै झूटो कुरा हो । त्यसो त ब्लीच, इथानोल, पेरासेटिक एसिड र क्लोरोफर्म लगायतका रासायनिक पदार्थले पनि सतहमा रहेका भाइरसलाई मार्न सक्छन् । तर भाइरस तपाईंको शरीरमा पहिलेदेखि नै छ भने यी कुराहरू छालामा राख्दा वा नाकमुनि राख्दा भाइरस मर्दैन, उल्टो थप हानि पुग्छ । अझ रासायनिक डिसइन्फेक्टेन्ट त झुक्केर पनि नपिउनुहोला । तत्कालका लागि कोरोनाभाइरसको कुनै उपचार छैन । यससम्बन्धी अनुसन्धान चलिरहेको छ र खोप उपलब्ध हुन एक वर्षभन्दा बढी समय लाग्नेछ ।

अहिलेका लागि भाइरसबाट बच्ने राम्रो उपाय भनेको रुघाखोकीको मौसममा जे गरिन्छ त्यही गर्ने हो । संक्रमित भएको हुन सक्ने व्यक्तिबाट कम्तीमा तीन फीट परै बस्नुस् । साबुनपानीले कम्तीमा २० सेकेन्ड हात धुनुस् । खोक्दा वा हाच्छ्युँ गर्दा कुमले वा टिस्युले नाक र मुख छोप्नुस् अनि टिस्युलाई तत्कालै फाल्नुस् । अनि आफूले छोएका वस्तु र सतहमाथि संक्रमणनाशक रसायन छर्किनुस् । सामान्य रुघाखोकीभन्दा खतरनाक लक्षण देखिएछन् भने तत्कालै चिकित्सककहाँ जानुस् ।

भ्रम : मास्क किन्नैपर्छ ?

यथार्थ : यो देशपिच्छे फरक हुन्छ । 

अमेरिकाको रोग नियन्त्रण महाशाखा (सीडीसी) ले स्वस्थ अमेरिकीले मास्क लगाउनु नपर्ने जनाएको छ अनि अमेरिकाका सर्जन जनरल जेरोम याडम्सले राम्ररी मास्क नलगाएमा संक्रमणको जोखिम झन् बढ्ने बताएका छन् । अमेरिकामा मास्कको अभाव भएपछि त्यसको मूल्य ह्वात्तै बढेर गएको छ । त्यसैले अधिकारीहरूले जनतालाई मास्क जम्मा नगर्न चेतावनी दिएका छन् । विशेषगरी एन९५ रेस्पिरेटर मास्क जम्मा नगर्न उनीहरूले भनेका छन् ।

जोखिममा परेकाहरूलाई त्यो मास्क आवश्यक पर्छ । कोरोनाभाइरस लागिसकेका र अरूलाई सार्न सक्ने रोगीहरूले चाहिँ मास्क लगाउनै पर्छ । अनि रोगीलाई स्याहार गरिरहेका र स्वास्थ्यकर्मीहरूले पनि यो मास्क लगाउनुपर्छ ।

अमेरिका बाहिर चाहिँ मास्कको कथा बेग्लै छ :-

एसियाली मुलुकहरूमा अधिकारीहरूले भाइरसको सामना लामो समयदेखि गर्दै आएका छन् । उनीहरूले सार्वजनिक यातायातमा चढ्दा वा भीडभाडमा जाँदा सर्जिकल मास्क लगाउन मानिसहरूलाई आग्रह गरेका छन् । मास्क लगाउँदा भाइरस सर्ने सम्भावना कम हुने उनीहरूको भनाइ छ ।

तर हङकङको स्वास्थ्य संस्थाले एन९५ रेस्पिरेटर मास्क सामान्य मानिसले प्रयोग गर्न नहुने किनकि यसलाई लगाउन र झिक्न विशेष तालिम आवश्यक हुने जनाएको छ । तपाईंले मास्क लगाउने कि नलगाउने भन्ने कुरा देशको स्वास्थ्य संस्थाले दिएको निर्देशनमा भर पर्छ ।

भ्रम : तातोले भाइरस मार्छ !

यथार्थ : हात सुकाउने यन्त्रले भाइरस मार्दैन ।

हात सुकाउने यन्त्रले भाइरस मार्दैन भनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार, परावैजनी बत्तीहरू हात सफा गर्नका लागि उपयोग गर्नुहुँदैन किनकि विकिरणले छाला चिलाउने सम्भावना हुन्छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरसलाई तातोले मार्छ भनेका थिए । त्यसैले गर्दा यो संक्रमण वसन्त ऋतु आएपछि अन्त्य हुन्छ भन्ने उनको भनाइ थियो । तर सार्वजनिक स्वास्थ्यविद्हरूले यसो हुन्छ भन्ने कुनै आधार नभएको बताएका छन् ।

भ्रम : भाइरस हुलाक मार्फत सर्छ ?

यथार्थ : चीनबाट आएको हुलाकी सामग्रीले भाइरस सार्दैन ।

चीनबाट आएको हुलाकी सामग्रीले भाइरस सार्दैन, विश्व स्वास्थ्य संगठनले भनेको छ । नयाँ कोरोनाभाइरसले मानिसहरूलाई कसरी संक्रमित बनाउँछ भन्ने विषयमा अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेका छन् तर पहिलेका कोरोनाभाइरसहरू कुनै पनि वस्तु वा सतहमा लामो समय नबाँच्ने देखिएको छ ।

भ्रम : बालबालिकालाई कोरोनाभाइरस लाग्दैन !

यथार्थ : जुनसुकै उमेरकालाई पनि लाग्नसक्छ ।

जुनसुकै उमेरका मानिसलाई पनि कोरोनाभाइरस लाग्न सक्छ तर वृद्ध व्यक्ति र पहिलेदेखि स्वास्थ्य समस्या रहेकाहरूमा चाहिँ संक्रमणको जोखिम उच्च हुन्छ । भाइरस पुष्टि भएका धेरैजसो केसहरूमा वयस्क नै देखिन्छन् तर बालबालिकालाई पनि संक्रमण भएको छ, सीडीसीले जनाएको छ ।

भ्रम : कोरोनाभाइरस लागेको मानिस मर्छ !

यथार्थ : मृत्युदर कम छ ।

यस भाइरसको मृत्युदर लगभग २ प्रतिशत छ अनि अधिकारीहरूले उक्त संख्या पनि घट्ने अपेक्षा गरेका छन् । कोरोनाभाइरस लागेका मानिस बिरामी पर्छन् र उनीहरूलाई श्वासनलीमा समस्या आउँछ । लक्षणहरू भनेको नाक बगिरहने, घाँटी खसखसाउने, टाउको दुख्ने र दुई दिन जति ज्वरो आउने हो । अधिकांशतया यी लक्षणहरू आफैं हराएर जान्छन् ।

कमजोर रोगप्रतिरोध क्षमता भएकाहरू, वृद्धहरू, शिशुहरूमा भाइरसले निमोनिया र ब्रोन्काइटिस जस्तो गरी श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ । तर हजारौं मानिस संक्रमित भएको र अधिकारीहरूलाई भाइरस रोक्न हम्मेहम्मे परेको सन्दर्भमा २ प्रतिशत मृत्युदर पनि चिन्ताकै विषय हो ।

सीएनएन

२०७६ फाल्गुन २७, मंगलवार १६:२१ गते 1 Minute 309 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार