
रासस / डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । ३ दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको ३ जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।
गाउँ नै थला पार्ने गरी २ सातादेखि फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा. मेलिना हमालले जानकारी दिइन् । ‘शुक्रवार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ,’ डा. हमालले भनिन् ।
‘सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौं,’ उनले भनिन् ।
अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा. हमालले बताइन् ।
५ जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरू पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए ।
सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैं आफू, आफ्नो परिवार, घर आँगन, गाउँघर सफा राख्ने बोहोराले बताए । आफूहरू सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनले बताए ।
२ सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. मेलिना हमालले बताइन् । ४–५ दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ । उपचारका क्रममा १५० जनाबाहेक ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा. हमालले बताइन् ।
करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थ्यकर्मीले बताएका छन् । ‘स्थानीयले रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने थाहा भएपनि यस्तो अवस्थामा खोक्दा वा हाछ्यँु गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो,’ डा. हमालले भनिन् । अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाछ्यँु गर्ने सरफाइमा उत्तिकै ध्यान दिने, पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताइन् ।
करेलीकाँडाका स्थानीयलाई सरसरफाइसम्बन्धी त्यति ज्ञान नभएको स्वास्थ्यकर्मीले बताए । सरसफाइमा ध्यान नदिएकै कारण एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभरि नै मौसमी रुघाखोकीको फैलिएको उनीहरूको भनाइ छ ।
‘आफूहरूले सरसरफाइसम्बन्धी धेरै कुरा सिकाएका छौं, यी कुरालाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ,’ स्वास्थ्य चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भनिन् ।
झाडापखाला मात्र नभई आँखा पाक्ने रोग फैलने सम्भावना पनि उत्तिकै रहेको स्वास्थ्यकर्मीले बताए । ‘बच्चाबच्चीलाई दिसापिसाब घरआँगनमै गराउने, ठूला मान्छेले पनि जथाभावी दिसापिसाब गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य वस्तु राम्रोसँग नपकाएरै खानेलगायतका कुरामा ध्यान नदिने गरको पाइयो,’ झाडापखाला लाग्दा के गर्ने के नगर्ने भनेर पनि सिकाएको न्यौपानेले बताइन् । –
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।