
काठमाडौं । कोरोना भाइरसलाई जोडेर सामाजिक सञ्जालमा झूठा प्रचारहरु हुन थालेका छन् । यसक्रममा झूठो प्रचार गर्ने एक जनालाई शनिबार प्रहरीले समातेको छ ।
नेपालमा संक्रमण भित्रिन नदिन सरकारले शुक्रबार अन्तराष्ट्रिय हवाई उडानसँगै लामो दुरीको यात्रा र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण मानिसहरुको आवत-जावतबाट फैलिने भएकाले सरकारले नेपालमा नभित्रियोस् भनेर यो घोषणा गरेको हो ।
तर, समाजिक सञ्जालहरुमा भने कोरोना संक्रमणबारे थुप्रै अफवाहहरु फैलिएका छन् । र, यो सामाजिक सज्जालका ग्रुप तथा म्यासेजहरूमा भाइरल बनेको छ ।
अफवाह एक : नर्भिक हस्पिटलमा ६ जनालाई कोरोना देखियो । महामारी फैलिसकेको छ नेपालमा ।
अफवाह दुई : राति १२ बजे विशेष सैन्य हेलिकोप्टरले कोरोना भाइरसविरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् ।
अफवाह तीन : टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव देखेँ । १७ वटा पशुपतिमा जलाइयो ।
माथि भनिएका कुनै पनि दाबी सत्य होइनन् ।
संक्रमण देखिएको भनेर अफवाह फैलाइएपछि शनिबार दिउँसो नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अहिलेसम्म कुनै पनि बिरामीमा संक्रमण नदेखिएको प्रष्ट पारेको छ ।
साथै, कोरोना संक्रमण भए नभएको जाँच गर्ने एउटा मात्र निकाय हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । यो बाहेक अरु कुनै पनि ल्याब वा अस्पताललाई कोरोना संक्रमण भए/नभएको जाँच गर्ने अनुमति नै पाएका छैनन् ।
मध्यरातमा नेपाली सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार पनि अफवाह नै हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले यसको खण्डन गरेका छन् । सेनाले यसबारे विज्ञप्ति नै निकालेर भ्रमको खण्डन गरेको छ ।
साथै कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको पनि छैन । यस्तै टेकु अस्पतालमा कोरोनाका कारण मृत्यु भएको दाबी पनि अफवाह भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसरी अफवाह फैलाउने व्यक्ति हाल अमेरिकाको टेक्कसमा भएको पाइएको छ । र, उनको त्यो पोष्ट हटाउन सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पत्राचारसमेत भइसकेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।