
-अर्जुन जम्नेली राई
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका -१ नम्बर वडाबाट कोरोना भाइरस भए नभएको परीक्षन गर्न आज पनि एक जना युवालाई आइशोलेसनमा पठाइएको छ । हिजो (चैत्र ११) नगरपालिका ६ बाट अर्को जनालाई पठाइएको थियो ।
अष्ट्रेलियाबाट कोरोना संक्रमित युवती आएकै बिमानमा कातारबाट आएको पत्ता लागेपछि दुबैजनालाई प्रदेश १ सरकारले मोरङ मिक्लाजुङ गाउपालिका टाँडिमा बनाएको आइशोलेसनमा पठाइएको हो । गत चैत्र ४ गते फ्रान्सबाट दोहाकतारमा ट्रान्जिट भएर कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएकी १९ बर्षिय युवतीलाई Covid-19 (कोरोना) भएको प्रमाणित भएको थियो । उनको काठमाडौमा उपचार भइरहेको छ ।
कतारबाट सोही उडानमा आएका २८ बर्षिय युवालाई पथरीशनिश्चरे-१, पथरी बजारबाट स्वास्थ्य परीक्षणको लागि आइशोलेसनमा पठाइएको हो । उनको घर ताप्लेजुङ भएपनी पथरीमा बहिनी ज्वाइको घरमा बस्दै आएका थिए । उनमा विरामीको लक्षण भने देखिएको छैन ।
चैत्र ४ गते नेपाल आएका उनी काठमाडौ नयाँ बसपार्कको सदिक्षा गेष्ट हाउसमा बसेर ६ गते पथरी आएर बस्दै आएका थिए । उनलाई स्वास्थ्य परीक्षणको लागि ताप्लेजुङ प्रहरीले खोजी गर्ने क्रममा पथरीमा फेला परेका हुन । आइशोलेसनमा लगिएका दुबै जनालाई विरामीको खास लक्ष्यण नदेखिए पनि पथरी कोरोनाको डेन्जर जोनमा परेको देखिन्छ । नगरमा अझ कडाइको साथ सतर्कता अपनाउनु पर्ने अवस्था आएको छ ।
सरकारले घरबाट बहिर ननिस्कन दिएको निर्देशन र कोरोनाबाट बच्ने उपाय पालना गर्नुपर्ने देखिन्छ । हिजो (चैत्र ११) सोही उडानमा आएका ४५ बर्षका एक जनालाई ६ नम्बर वडा अध्यक्ष जयबहादुर तामाङको पहलमा आइशोलेसन पठाइएको थियो ।
त्यसैगरी मोरङकै कानेपोखरी-५ बाट दुई जनालाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विग्यान प्रतिष्ठान आजै (चैत्र १२)पठाइएको छ । उनिहरु चैत्र ७ गते आष्ट्रेलियाबाट नेपाल आएका थिए । आष्ट्रेलियाबाट आएका ५९ बर्षिय पतिपत्निलाई ज्वरो आएपछि परीक्षणको लागि धरान पठाइएको हो ।