
-अर्जुन जम्नेली राई
मोरङ । घट्ना फागुन २७ गतेको हो । मोरङ पथरीशनिश्चरे-१० को २७ बर्षीय दीपक पयाङ्गु लिम्बू छिमेकी लंक तामाङको घरमा सुतिरहेका थिए । राती लंक तामाङको भाई दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बु आएर दीपक लिम्बूलाई कुटपिट गरे ।
घट्ना यति मै रोकिएन । कुटपिटबाट घाइते दीपक भोलिपल्ट अर्कै घरमा सुतिरहेका थिए । मुखमा पट्टी बाँधेर सोही समूहले दीपकलाई पुन कुटपिट गर्यो । भाग्ने कोसिस गरे अगाडिको पिटाइबाट सक्त घाइते सकेनन । समाएर मरणासन्न हुने गरि पिटिए । कुटपिटबाट दीपकको दाहिने आँखा काम नलाग्ने हुनुको साथै टाउँकोमा खुन जमेको थियो ।
गम्भीर घाइते दीपक आर्थिक अवस्था कमजोर भएको कारण अस्पताल गएन । गाउँघरमै बसे । विरामीको अवस्था कमजोर हुँदै गएपछि कुटपिट गर्ने समुहको आफन्तहरुले पथरी यलम्बर चोकको वसन्त मेडिकलमा ल्याए र केही औषधि लिएर घर लगे । विरामीको अवस्था नाजुकको थाहा पाएपछि दीपककी बहिनी मनु आएर चैत्र ७ गते बीपी कोइराला स्वास्थ्य अस्पताल धरान लगे । कुटपिट भएको १० दिन बिति सकेको थियो ।
बीपी अस्पतालले आइसीयु छैन अन्तै लानु भने । बिरामीको साथमा बहिनी मनु र ज्वाइँ गंगाबहादुर लिम्बू थिए । दाजुको ज्यान बचाउन बहिनीले दाजु दीपकलाई बिराटनगरको बिराट अस्पताल लगे । त्यहा दीपकलाई आइसीयुमा राखियो । टाउकोको अप्रेसन गरियो । विरामीको अवस्था नाजुकहुँदै जाँदा भ्यान्टीलेटरमा राखियो । अस्पताल पुर्याको ७ दिनमा (आज चैत्र १३ गते)आन्तत दीपक लिम्बूको मृत्यु भयो ।
दाजुको मृत्यु भएसंगै बिराट अस्पतालमा काम गर्ने कर्मचारीहरुले उपचार गरेको पैसा माग्न थाले । पैसा नतिरे शव नदिने र सडकमा फाल्दिन्छु भनेपछि मृतकको बहिनी मनु लिम्बू र ज्वाइँ गंगाबहादुर लिम्बू अस्पताल बाहिर बसिरहेका छ्न ।
फोन सम्पर्कमा बहिनी मनुले भनिन “हामीसँग पैसा छैन, नतिरी लास लान दिन्न भन्छ के गर्नु उपाए छैन ।” ज्वाइँ गंगाबहादुरको पनि कुरा उस्तै छ “हामीलाई पैसा निकाल्न सक्दैनौ दाजु (जेठान)को शव निकाल्न गारो भो ।”
मृतक दीपकको आर्थिक अवस्था नाजुक छ । आमाले छाडेर गएपछि बाबुले अर्को बिबाह गरे । जेठीपटीको दाजु बहिनी मात्र हुन । कान्छीपटीको दुई भाई र एउटी बहिनी छिन । सबैको आर्थिक अवस्था कमजोर छ । त्यसमा पनि बाउ मोहन लिम्बू केही महिना अघि प्यारालाइसिस भएर औषधि खाइरहनु पर्ने अवस्था छ । उनको उपचार पनि चन्दा उठाएर गरिएको थियो ।
सात दिनमा बिराट अस्पतालको उपचार खर्च ३ लाख ८० हजारको बिल उठेको छ । फार्मेसीमा एक लाख २० र ल्याब गरि साढे ५ लाख पुगेको छ । बहिनी मनुले पैसा तिर्न नसकेकै कारण दाजुको शव पाउन त के नजिक समेत जान सकेकी छैनन ।
घट्ना बारे बुझ्न पथरीशनिश्चरे नगर-१० नम्बर वडा अध्यक्ष सागर राईलाई फोन लगाइयो । वडा अध्यक्ष राईले नोबेलमा जस्तो बिराट अस्पतालमा छुट गराउन नसक्ने बताए । वडामा यस्तो घट्नाको लागि रकम नहुने जानकारी दिए । त्यसपछि नगर प्रमुख दिलिपकुमार राईलाई फोन लाउदा आफू बिरामी हेर्न एक पटक गएको नगरबाट पछि केहि रकम निकासा गर्न सकिए पनि हाल केही गर्न नसक्ने बताए । प्रमुख राईले घट्नाबारे संविधान सभा सदस्य चण्डीप्रसाद राईलाई बढी जानकारी हुने बताए ।
संविधान सभा सदस्य चण्डीप्रसाद राईसंग कुरा हुँदा आफू अस्पताल गएरै छुट गराउने तर बिरामीको आफन्तसँग तिर्ने पैसा हुनुपर्ने कुरा राखे । सभासद राईलाई दीपक परिवारले पैसा निकाल्न नसक्ने अवस्था पनि जनकार रहेछन ।
घट्ना संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको क्षेत्रमा पर्छ । चण्डीप्रसाद राईको कुरा सुनिसकेर अस्पताल सन्चालक डा. ज्ञानेन्द्र गिरीलाई फोन लाइयो । उनी नेकपा समर्थक हुन । ढकालले तीन दिन अघि मनु भेट्न आएको र तीन दिनपछि पैसा ल्याउछु भनेकोले प्रशासनमा फोन गरेर भनि दिएको जानकारी दिदै अस्पताल प्रशासन/लेखा अधिकृत सुबास पोख्रेलको नम्बर दिए ।
पोख्रेलले भने सिधा अनि निर्मम कुरा सुनाए । उनको भनाइ यस्तो छ । सर पैसा नल्याई त शव कसरी दिनु । कोरोनाको संकट भएनी सबै बैंक खुल्ला छ । हाम्रो खातामा पैसा ब्यालेन्स गर्ने शव लिएर जाने । पैसा नलिइ शब पठाउदा त हाम्रो अस्पताल बन्द गरे भइगयो नि। कोरोना, लकडाउन भए नि पैसाको ममलामा नर्मल मान्दिनुस । अर्को उपाए छैन ।
– कुटपिट गर्ने एकजना मात्र पक्राउ
दीपकलाई कुटपिट गर्ने मध्ये मुस्कान राई मात्र पक्राउ परेको छ । बाँकी दुई जना हिजोसम्म गाउँमै भेटेको स्थानीय गनेश लिम्बूले बताए । इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलीप गिरी भने अरुको पनि खोजी भइरहेको औपचारिक कुरा सुनाए । घट्नाको उजुरी नै ढिलो आएको प्रमुख गिरीको भनाइ छ । बिराट अस्पतालले शब रोकेको बरेभने गिरीले त्यसो गर्न नपाइने बताएका छन । कर्तव्य ज्यानको उजुरी परेपछि प्रकृति मुचुल्का उठ्ने अनि कोशी अस्पतालमा पोष्ट मार्टम हुने प्रक्रिया सुनाए ।
– बहिनी मनुको गुनासो
कान्छी आमा भएको कारण दीपकको घरमा त्यति मेल मिलाप नभएको कारण दीपक प्राय आफ्नो घर भन्दा बढी गाउँतिरै बस्थे । दाजुलाई आक्रमण हुँदा मनु धरान थिइन । पतिसँग धरान नै बस्छिन । बर्षदिनको नानी छ मनुको । उनले भनिन “दाईलाई दुई पटक कुटेर दाहिने आँख फुटाइ दिए, टाउकोमा ब्लड जम्ने गरि खेदाई खेदाई पिटियो ।”
यस्तो गम्भीर बिरामी हुँदा नि दाईको बारे वडा अध्यक्ष सगर राई, नगर प्रमुख दिलिपकुमार राईले किन चासो लिएनन ? प्रहरीले किन अपराधी पक्रेनन ? के गरिवलाई बाँच्ने अधिकार छैन ? मेरो दाईलाई समयमै उपचार पुगेको भए बचाउन सकिन्थ्यो । मैले भरपुर बचाउने प्रयास गरेँ सकिन । के त्यहाँको समाजको जिम्मेवारी छैन ।
दाइ मरेकोमा त पीडा छ्दैछ । अहिले शब निकाल्नसम्म आवश्यक सहयोग पाइरहेको छुइन । पैसा नभएको कारण अहिले शव निकाल्न सकिरहेको छुइन । स्थानीय सरकारले सहयोग गरोस ।
मनुको अर्को माग छ । अपराधीलाई तुरुन्त पक्राउ गरेर कार्बाही होस । तड्ताई तड्पाई मारेकोमा क्षतिपूर्तिसमेत भरिनु पर्छ । कसैको सहयोग नपाए पथरीशनिश्चरे नगर १० नम्बर वडामै आएर आत्महत्या गर्ने कुरा नि मनुले चेतावनी दिइन ।
विश्व कोरोनाको कारण अस्तब्यस्त छ । नेपालमा लकडाउन भएको बेला मनु लिम्बूलाई भने बज्रपात परेको छ । छिमेकीको कुटपिटबाट माइती गुमाउनु परेको छ । त्यसमा पनि ब्याबहारिक, कानूनी र आर्थिक सहयोग नपाउँदा पीडामाथी पीडा थपिएको छ मनुलाई । रुदै फोनमा बोलेकी मनुले भनिन “राज्य सरकार र अभिभावक नभएअको जस्तो भइरहेको छ ।”
२०७६ चैत्र १३, बिहीबार ०९:१२ गते
1 Minute
11 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।