
काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो ।
चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो ।
चीनले यो भाइरस निस्किएको सहर वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिक रूपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो । बुधबारदेखि वुहानको लकडाउन पूर्णरुपमा खुल्नेछ । यो सहर भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको सहर हो ।
मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरू हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् ।
त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।
हेल्थ कमिशनकाअनुसार एक दिनमा ३० जना लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन्। यससँगै चीनमा लक्षण नदेखिएका बिरामीको संख्या पनि एक हजार ३३ पुगेको छ । यसमध्ये करिब एक चौथाइ विदेशबाट आएका मानिस छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।