२०८० मंसिर १४ बिहीबार

७६ दिनपछि खुल्यो वुहान, सडक अवरोधहरु हटाउदै

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) को उद्गम स्थल वुहान सहर बुधबारदेखि खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।

लकडाउन खुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ ।

पछिल्लो समय चीनमा कोभिड–१९ को महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो ।

लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । हाईस्पीड ट्रेनले पनि सेवा सुरु गरेको छ ।

चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ । तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो ।

वुहान चीनका ठूला उद्योगको केन्द्रको रुपमा रहेको छ । विशेषगरी अटो उद्योगको लागि यो सहर चर्चित छ । धेरै ठूला उद्योगले आफ्नो उत्पादन पुनः शुरु गरिसकेका छन् । साना र मझौला आकारका व्यवसाय भने अझै पनि आफ्नो उत्पादन शुरु गर्न संघर्ष गरिरहेका छन् । यस्ता उद्योगलाई सहयोग गर्न सरकारले २ अर्ब ८० करोड डलरको सहुलियत ऋणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो ।

२०७६ चैत्र २६, बुधबार ०७:५५ गते 1 Minute 52 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार