२०८० आश्विन ७ आईतवार

कोरोना संक्रमितको कोठामै छिर्दैनन् डाक्टर !

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवती धौलागिरी अस्पतालमा उपचाररत छिन् ।

अस्पतालको तेस्रो तला बनाइएको आइसोलेन वार्डमा बसेको १२ दिन भइसक्यो । उनलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिए । अहिले ज्वरो आए नआएको, खोकी लागे नलागेको सोधे र धेरैभन्दा धेरै तातोपानी खान पनि सुझाए ।

कुराकानीका क्रममा मुख्यमन्त्री गुरुङले सोधे, डाक्टर दिनमा कतिपटक आउनुहुन्छ ?

जवाफमा उनले भनिन्, ‘हेर्न आउनु हुन्न । फोन गर्नुहुन्छ ।’

मुख्यमन्त्रीले फेरि सोधे, कोठामा नै आउनुहुन्न ?’ विरामीले नआउने गरेको जानकारी गराए ।

संक्रमित युवतीका बुवा ऋषिराम सापकोटाले पनि अस्पतालमा उपचाररत छोरीलाई कोरोना संक्रमणले भन्दा एक्लोपनले सताएको बताए । छोरीलाई उधृद्ध गर्दै सापकोटाले भने, ‘दिनको दुई पटक नर्सहरु खाना लिएर आउँछन्, डाक्टरहरु आउँदैनन् । फोनमा के कसो भयो भनेर सोध्छन् ।’

सापकोटाले अघि भने, ‘बन्द कोठामा एक्लै बस्नु पर्दा छोरी निकै आत्तिएकी छे । दुई पटक नर्स आउँछन् । यसबाहेक कोठाको भित्ताबाहेक उसले केही देख्न पाउँदिन ।’

धौलागिरि अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने संक्रमित युवतीलाई भेट्न चिकित्सक नियमित जाने गरेको दाबी गरे । ‘पीपीई लगाएर गएकाले उनले नचिनेको होला’ डा. पोखरेलले भने । –credit onlinekhabar

२०७६ चैत्र २७, बिहीबार ०९:२१ गते 1 Minute 46 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार