
काठमाडौं । पेप्सिकोला स्थित रहेको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड -१९) भाइरस संक्रमण पुस्टि भएपछि प्रहरीले सम्पर्क सूची केलाउन थालेको छ ।
र्यापिङ टेस्ट किट (आरडीटी) बाट तीन जनामा संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पीसीआर टेस्टबाट दुई जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो व्यक्तिको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छैन ।
नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)का अनुसार उनीहरु ५ चैतमा कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए ।
यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ । मंगलबार मात्र कोरोना पुष्टि भएकाले अहिले सबै व्यक्तिको खोजी कार्य सुरु भइसकेको प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी अधिकृतले बताए ।
विमानमा सवार अधिकांश व्यक्ति विभिन्न जिल्लामा पुगिसकेको सुरक्षा संयन्त्रको भनाइ छ । ‘धेरै संख्यामा यात्रुहरु बाहिर पुगिसक्नुभएको छ, त्यसैले अब हामीले खोजी थाल्नु भन्दा पहिले आफू बसेको स्थानमा रहेका प्रहरीसँग सम्पर्क गरिदिनु हुन अनुरोध छ’, ती अधिकृतले भने ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।