२०८० चैत्र १५ बिहीबार

विद्युतीय माध्यमबाट अध्यापन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।

सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तरता दिन विद्युतीय माध्यम उपयोग गर्ने गृहकार्यमा सरकार जुटेको हो । सरकारको यस गृहकार्यमा शिक्षकका विभिन्न संस्था, विद्यालय तथा शिक्षकले साथ दिने भएका छन् ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले प्रविधिको माध्यमबाट कसरी विद्यार्थीलाई पढाउने भन्ने तयारीमा जुटेको जानकारी दिनुभयो । यसका लागि हाल कक्षा १ देखि ५ सम्मको बालबालिकाका लागि उपयोगी हुने सामग्री तयार गरिएको छ ।

बन्दाबन्दीमा पनि अध्ययन अध्यापन गर्न सकिने सन्देश दिन भिडियो कुराकानी, एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालको समेत प्रयोग गरेर विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिनेछ । वैशाख २ गते विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु भएपछि तयारी सुरु गरिएको हो ।
यसअघि वैशाख २ देखि १५ सम्म भर्ना अभियान तथा त्यसपछि कक्षा नियमित सञ्चालन गर्ने गरिएको थियो । निर्देशक गौतमका अनुसार पाठ्यक्रम विकास केन्द्रले यसअघि पाठ्यक्रममा आधारित रहेर निकालेका विद्युतीय सामग्रीको पनि विद्यार्थीले उपयोग गर्न सक्ने छन् ।

प्रविधिमैत्री शिक्षक
कोरोना भाइरस सङ्क्रमणका कारण नियमित कक्षा सञ्चालन हुन नसकेका बेला प्रविधिबाट पढाउने सरकारी अभियान सघाउन प्रविधिमैत्री शिक्षक समाजको पहलमा आठ सय शिक्षक उत्पादन गरिँदैछ । ९० जना प्रशिक्षक प्रशिक्षण उत्पादन गर्न अनलाइन माध्यमबाट तालिम चलिरहेको छ । हरेक प्रदेशमा कम्तीमा एक–एक सय गरी प्रविधिबाट पढाउन सक्ने गरी झन्डै आठ सय शिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको समाजका सचिव हरिहर दाहालले जानकारी दिनुभयो ।

प्रविधिबाट पढाउन सुरु
प्रविधिमा अनुभवी शिक्षकले यसको प्रयोग गरी पठनपाठन गराइरहेका छन् । मकवानपुर र तनहुँका शिक्षकले यसको सुरुवात गरेका हुन् । हटौँडाका चन्द्रोदयका शिक्षक विवशजङ्ग थापा र तनहुँस्थित खैरैनी मावि खैरेनीटारका प्रधानाध्यापक केशवराज घिमिरेले प्रविधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिइरहनुभएको जानकारी दिनुभयो । फेसबुकबाट लाइभ गरेर विद्यार्थीलाई पठनपाठन गराउन थालिएको छ, प्रअ घिमिरेले जानकारी दिनुभयो । विद्यार्थीलाई कक्षा हुने पूर्वसूचना दिएर सामाजिक सञ्जालबाटै पढाउन थालिएको र यो यतिबेला उपयुक्त सिकाइ विकल्प भएको उहाँको भनाइ छ । धेरै विद्यार्थी यसबाट लाभान्वित भएको उहाँको भनाइ छ ।
मकवानपुरका केही स्थानीय तहले पनि प्रविधिबाट कसरी पढाउने भन्ने विषयमा इच्छा देखाएकाले बन्दाबन्दीकै अवधिमा ४० जना शिक्षकले प्रविधिबाट कसरी पढाउने भनेर शिक्षकसित अनुभव आदानप्रदान गरेको जानकारी दिनुभयो ।

२०७७ बैशाख ४, बिहीबार ०८:५३ गते 1 Minute 76 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार