२०८० आश्विन ११ बिहीबार

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनमाथि सरकारको सोधपुछ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ ।

शनिबार मात्र एक संक्रमित निको भएर घर फर्किइन् भने एक संक्रमित उपचाररत छन् । कोरानाको आशंका पनि अधिकांश बिरामी त्यहीँ पुग्छन्, अस्पतालहरु पनि त्यहीँ रिफर गर्छन् ।

अरु अस्पतालभन्दा टेकुमा बढी चाप छ । स्वास्थ्यकर्मीहरुको खटाई पनि बढी छ । थोरै संख्यामा रहेको पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), एन ९५ मास्क कम खपत होस् भनी २४ घण्टे ड्युटी गर्छन् । घर परिवार र समाजको दबाव र तनाव पनि छँदैछ ।

त्यसका बाबजुद टेकु अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्ध अग्रप‌ंक्तिमा खटिएका छन् । त्यसरी खटिएकामध्ये एक डाक्टर शेरबहादुर पुनलाई सरकारले भने स्पष्टीकरण सोधेको छ ।

अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजकसमेत रहेका पुनलाई सञ्चार माध्यममा कोरोनाबारे व्यक्त धारणालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको हो । उनलाई जगेडा राख्ने तयारी छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भने टेलिफोनबाट बोलाउन नआएपछि पत्र काट्नु परेको बताउँछन् । उनी भन्छन्, ‘मन्त्रालयले आफ्नो विधि र प्रक्रियामा रहेर काम गर्न पनि नपाउने ? विज्ञको सल्लाह लिन पो बोलाएको हो कि ?’

डा. पुन भने केही दिनयता मन्त्रालयमा बोलाए पनि केका लागि हो भन्ने थाहा नपाएको बताउँछन् । ‘केही दिनयता अस्पतालको प्रशासनबाट मन्त्रालयमा कुरा गर्न बोलाएको छ भन्ने जानकारी आएको थियो तर जान पाएको छैन’, उनले भने ।

‘कोरोनाबारे डाक्टर नबोले को बोल्ने ?’

इपिडियमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी कोरोना भाइरसका विषयमा जनतालाई चिकित्सकले नै पर्याप्त जानकारी दिनुपर्ने बताउँछन् ।

डा. मरासिनी महामारी, रोग, ओषधि जस्ता कुरामा जनताले डाक्टरकै भनाइमा विश्वास गर्ने बताउँछन् । मन्त्रालयले आफ्नो कमजोरी र असक्षमता लुकाउन कसैलाई बलीको बोको बनाउन नहुने उनको सुझाव छ ।

‘कोरोनाका विषयमा नबोलेका हुनाले नै समस्या आएको हो’ डा. मरासिनी भन्छन्, ‘यस्तो महामारीका बेला कोरोनाको विषयमा डाक्टर नबोले को बोल्ने त ?

२०७७ बैशाख ६, शनिबार १४:१७ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार