
धरान / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै ढुक्क अपिल गर्नुभएको छ ।
मुख्यमन्त्री राईले आइतबार साँझ प्रदेशबासीलाई सम्बोधन गर्दै जारी गरेको सन्देशमा कोरोना संक्रमितको उपचार र रोकथामका लागि सरकार अहोरात्र लागेको बताउँदै नआत्तिन अपिल गर्नुभएको हो । मुख्यमन्त्री राईले कोरोना उपचार, रोकथाम र अन्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता जनाउँदै धैर्य गर्न आग्रह गर्नुभएको छ ।
‘अहिले हाम्रो प्रदेशबाटै दुवै विधिबाट कोरोना परीक्षण भइरहेको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं ’, मुख्यमन्त्रीले भननुभएको छ तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।’
प्रदेशमा हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय ५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ । ११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ ।
‘अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ’ मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ‘यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ ।’
उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै थप सजगता र सावधानी अपाउनुपर्ने उल्लेख गर्दै उहाँले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउन पनि आग्रह गर्नुभएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।