२०८० आश्विन ७ आईतवार

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।

उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो,’ उनले भने, ‘पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं ।’

लकडाउन सुरु भएको दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरु बताउँछन् ।

त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।

उनको इङ्गेजमेन्ट (टीकाटालो) भइसके पनि बिहे हुन बाँकी थियो ।

२०७७ बैशाख १४, आईतवार ०६:१७ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार