२०८० चैत्र ६ मंगलवार

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण

 

नयाँ दिल्ली / भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र दुईसय जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताउनुभएको हो । उहाँले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताउनुभयो । उहाँले तीन हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले मङ्गलबार भन्नुभयो– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर दुईसय जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उहाँले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताउनुभयो ।
कोविड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित

तर उहाँले दिएको जानकरीअनुसार कोविड १९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताउनुभयो । उहाँले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले दिल्लीमा मात्र तीन हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उहाँका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उहाँका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।

स्वास्थ्यमन्त्री जैनले भन्नुभयो– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।

लकडाउन कहिलेसम्म लम्बिन्छ ?
उहाँलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भन्नुभयो– अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ ।

हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमा राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गर्नुभएको थियो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा हुनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।-रासस

२०७७ बैशाख १६, मंगलवार ०९:३१ गते 1 Minute 86 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार