२०८० जेष्ठ १८ बिहीबार

लकडाउनलाई प्रभावकारी बनाउन पासवाला सवारीलाई कडा निगरानी गरिने

-शारादा तामाङ

भोजपुर । भोजपुर जिल्लामा लकडाउनलाई कडाइ गरिएको छ । लकडाउनको समयमा पास लिएका सवारी साधन माथी थप कडा निगरानी बढाइएको छ ।

अत्यावश्यक कामका लागि पास लिएका सवारी साधनको दुरूपयोग भएको जन गुनासो आएपछि प्रशासनले निगरानी बढाएको हो । जन गुनासो आएपछि छड्के अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । पासको दुरूपयोग गर्ने र बिना पास सवारी चलाउनेलाई कारबाहीको दायरामा ल्याउन थालेको उनले जानकारी दिए ।

प्रजिअ पुरीका अनुसार छड्के अनुगमनका क्रममा बिना पास सञ्चालन भइरहेका तीन वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरिएको प्रजिअ पुरीले बताए । दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुने लगाएतका सवारी साधनलाई पास दिइएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

छिमेकी जिल्लाहरूमा कोरोना संक्रमितहरू बढेसँगै बिहीबारदेखि लकडाउनमा कडाइ गरिएको हो । पछिल्लो समय छिमेकी जिल्लाहरू धनकुटा, उदयपुर, सुनसरी, झापा र खोटाङमा कोरोना संक्रमितहरू बढ्न थालेपछि जिल्लामा लकडाउनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार जिल्लामा अत्यावश्यक औषधि, खाद्यान्न, तरकारी, निर्माण सामग्री ढुवानीका सवारी साधनलाई समेत कडाइका साथ चेकजाँच गर्न थालिएको छ ।

अनावश्यक रूपमा चल्ने बाइक तथा टेम्पुहरूलाई पनि कारबाही भइरहेको र जिल्ला प्रवेश गर्ने नाकाहरूमा समेत कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रेमकुमार साहले जानकारी दिए ।

२०७७ जेष्ठ ८, बिहीबार ०८:१३ गते 0 Minutes 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।