
दिल्ली एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित संख्याको आधारमा अहिले भारत विश्वको १० औं बढी प्रभावित मुलुक बनेको छ ।
कोभिड-१९ को विषयमा अनुसन्धान गरिरहेका भारतीय शोधकर्ताका अनुसार जुलाइसम्ममा भारतमा केही लाख संक्रमित थपिन सक्छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३८ हजार नाघिसकेको छ ।
संक्रमित संख्याको हिसाबमा सबैभन्दा अगाडि अमेरिका छ । त्यसपछि ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्कीपछि भारतको नाम छ । पछिल्लो तथ्यांकअनुसार भारतमा चार हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
भारतको सरकारी तथ्यांकअनुसार जनसंख्याको आधारमा दोस्रो ठूलो मुलुक भारतमा अहिले हरेक १३ दिनमा कोरोना भाइरस संक्रमितको संख्या दोब्बर भइरहेको छ । यसै अवस्थामा सरकारले पनि लकडाउन खुकुलो बनाउन शुरु गरेको छ ।
यसअघि एम्सका निर्देशक रणदीप गुलेरियाले पनि केही दिनअघि अहिले निरन्तर भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेको बताउँदै कुनै न कुनै अवस्थामा त यो उत्कर्षमा पुग्ने बताएका थिए । तर, सबैभन्दा उच्च विन्दुमा कहिले पुग्छ भन्ने कुरा भने मोडलिङ डाटामा आधारित हुने उनको भनाइ छ ।
धेरैजसोले भने जुन–जुलाईमा भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या उच्च विन्दुमा पुग्न सक्ने बताएका छन् ।
डाटा मोडलिङले के भन्छ ?
समाचार एजेन्सी रोयटर्सले यस विषयमा युनिभर्सिटी अफ मिसिगनका बायोस्ट्याटिस्टिक्स र महामारी विशेषज्ञ प्राध्यापक भ्रमर मुखर्जीसँग कुरा गरेको थियो ।
मुखर्जीका अनुसार अझै भारतमा कोरोना भाइरसको संक्रमण कम हुन सकेको छैन । उनको टोलीले गरेको अनुमान अनुसार जुलाईको शुरुवातमा भारतमा संक्रमितको संख्या ६ लाख ३० हजार देखि २१ लाखसम्म पुग्न सक्छ । भारतमा कुल संक्रमितको पाँभ भागको एक भाग मुम्बई सहरमा देखिएको छ ।
भारत सरकारको भनाइ
कोरोना भाइरसको संक्रमणको कारण अहिले भारतको सबैभन्दा धेरै संक्रमण देखिएको चार राज्यको सरकारी अस्पतालमा बेडको अभाव देखिएको छ । केही राज्यमा संक्रमितलाई अस्पतालमा भर्ना नलिएका कारण परिवारले विभिन्न स्थानमा भौंतारिनुपरेको समाचार पनि आएको छ ।
रोयटर्सका अनुसार भारतको स्वास्थ्य मन्त्रालयले संक्रमणमा वृद्धिको अहिले गरिएको यो अनुमान अनुसार संक्रमित बढे उनीहरुको कसरी उपचार गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रेस ब्रिफिङको क्रममा सरकारले सबै संक्रमितलाई अस्पतालमा भर्ना गर्नु जरुरी नरहेको बताएको छ । साथै अस्पतालमा बेडको संख्या बढाउनको लागि तीव्र गतिमा काम भइरहेको सरकारको भनाइ छ ।
सरकारले आइसोलेसनको लागि नियम पनि बनाएको छ । सरकारी तथ्यांकअनुसार अहिले भारतका अस्पतालमा सात लाख १४ हजार बेड छन् । सन् २००९ मा नै भारतमा पाँच लाख ४० हजार बेड थिए ।
लकडाउनको असर
भारतमा लकडाउन घोषणा गर्ने सरकारको निर्णयको सबैले स्वागत गरेका थिए । त्यतिबेला लकडाउनले भारतलाई कोरोना भाइरसविरुद्ध लड्न पर्याप्त समय मिल्ने विशेषज्ञहरुले बताएका थिए । तर, अहिले बढेको संक्रमितको संख्याले भने भारतको तयारीमा अझै पनि कमी देखिएको छ ।
मुखर्जीका अनुसार लकडाउनले मात्रै सबैकुरा हासिल हुन सक्दैन । यस्तोमा लकडाउनको साथै अन्य कामहरु पनि एकसाथ अघि बढाउनु जरुरी हुन्छ । यद्यपि लामो समयसम्म लकडाउन गर्नाले मुलुकको अर्थतन्त्रमा भने नकारात्मक असर पार्छ ।
भारतले लकडाउनको कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि उल्लेख्य राहतको कार्यक्रम पनि ल्याएको छ । यसले मुलुकमा व्यापार र उद्योगलाई पनि उल्लेख्य मात्रामा राहत पुग्नेछ । यसबाट मुलुकको नगद प्रवाहको समस्या समाधान हुन सक्छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।