२०८० चैत्र १५ बिहीबार

सात सय भारतीय बाहिरिए, चार हजार ७०९ नेपाली भित्रिए

जेठ १९, लम्की । सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या साेमबार अन्य दिनभन्दा घटेको छ ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमबार चारहजार ७०९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट सात सय भन्दा बढी भारतीय नागरिक बाहिरिएका छन् ।

भारतका विभिन्न शहरबाट आएका सुदूरपश्चिमका नौ जिल्लालगायत पूर्वी नेपालका विभिन्न जिल्लाका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिएका हुन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन्द्रनाथ पौडेलले एक हजार ३५२ जना गड्डाचौकी नाका भएर सोमबार नेपाल भित्रिएको बताउनुभयो । साथै उहाँले भने २२० जना भारतीय नागरिक बाहिरिएको समेत जानकारी दिनुभयो । आइतबारको तुलनामा आधा कम मानिस भित्रिएका छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट तीन हजार ३५७ जना नेपाली नेपाल भित्रिनुका साथै ५४० भारतीय नागरिक बाहिरिएको बताउनुभयो ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ६८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब नौ हजार पुगेको छ । लकडाउन लागू भएसँगै भारतमा अलपत्र परेका नेपाली तथा भारतीय नागरिक आफ्नो देश आउन र जान थालेपछि बन्द भएका सीमा नाका खोलिएको थियो ।

जेठ २ गतेबाट खुला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रममा सोमबार भने केही सङ्ख्या घटेको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार गरी क्वारेन्टाइनमा राखिएका छन् ।

रोजगारका लागि भारत गएका नेपाली लामो लकडाउनले खाना र बस्नका लागि समस्या आउन थालेपछि कोरोनाभन्दा पनि भोकले मरिन्छ कि भन्ने पीरले जोखिम मोलेर विभिन्न कष्ट झेल्दै नेपाल आउनुपरेको बाध्यता उनीहरू सुनाउन्छन् ।

२०७७ जेष्ठ १९, सोमबार १४:२० गते 0 Minutes 74 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार