
जेठ-२६, भोजपुर । यस बर्षको गाउँसभाको आधारमा आर्थिक बर्ष २०७६/०७७ को योजनामा हतुवागढी गाउँपालिको विकास निर्माणको प्रगति शुन्य प्रतिशतमा रहेको छ ।
कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण सानाठूला गरी करीव ९० प्रतिशत योजनाहरु रकमान्तरण गरी कोरोना महामारी रोकथामको लागि खर्च गरीएकोले यस बर्ष प्रायजसो योजनाहरु कटौटीमा परेको गाउँपालिकाका कार्यकारी आधिकृत मणीराम खतिवडाले बताए ।
प्रदेश सरकार र संघिय सरकारबाट आएको ससर्त बजेट योजनाहरुलाई सकेसम्म सम्पन्न गर्ने त्यस बाहेकका अति महत्व नरहेका गाउँपालिकाको योजनाहरुलाई भने रोक्ने गाउँपालिकाको निर्णय रहको छ । त्यस कारण पहिलो गाउँसभाले पास गरेको योजनाहरुका आधारमा भन्ने हो भने गाउँपालिकाको विकास निर्माणको योजनाको विषयमा शुन्य प्रतिशतको अवस्थामा रहेको अधिकृत खतिवडाले बताए ।
मुलुक अहिले कोरोना कहरसंग लडिरहेको अवस्थामा हतुवागढी गाउँपालिका भित्र रहेको ९८ वटा टोल विकास समिति मार्फत स्वरोजगार शिर्षकबाट ९८ लाख बराबर रकम विनियोजन गरी स्थानीय जनता परिचालन गरी आ-आफ्नो टोल विकासको कार्य गरीएको र यो रकम अन्य योजनालाई रकमान्तरण गरी यता हालिएको गाउँपालिकाका उप प्रमुख चन्द्रमा राईले बताए ।
हतुवागडी गाउँपालिकाका प्राविधिक जय खड्काका अनुसार यस आर्थिक बर्षमा हतुवागढी गाउँपालिकाले कुनै महत्वपूर्ण योजनाहरु अगाडी सार्न नसके पनि प्रदेश र संघीय सरकारबाट आएको योजनाहरु भने द्रुतगती अगाडी बढीरहेको छ । जसमा– प्रदेशबाट विनियोजित रकमबाट वडा नं. १ को सल्लेरी खेल मैदान निर्माणको लागि २० लाखको सम्झौताको प्रकृयामा रहेको छ भने घोडेटार बस पार्क निर्माणको लागि २० लाख रकमको निर्माण प्रकृया अगाडी बढीसकेको छ ।
संघीय संसद माननीय सुदन किरातीको संसद क्षेत्र विकास कोषबाट विनियोजित ३० लाख बरबरको रकमले होम्ताङ वडा नं. १ देखि सुनवालुवासम्म सडकको स्तर उन्नती शिर्षकमा र प्रदेश सरकारबाट बिनियोजित करीव १ करोड रकमको साप्टेनटार चुहार सम्मको बाटोलाई स्तरउन्नती तथा टर्निङ/कुइनेटो मिलाउने कामको लागि सम्झौता भइ निर्माण कार्य तयारी अवस्थामा रहेको छ ।
ज्यामीरे देखि मचुवा सम्मको सडक स्तर उन्नतीको लागि प्रदेश सरकारको स–सर्त बजेटबाट १ करोड र गाउँपालिकाबाट ३० लाख विनियोजन गरी (धर्म राईद्वारा) ठेक्का भई निर्माण कार्य भइरहेको छ । खैराङ खानेपानी योजनाको लागि प्रदेश सरकारबाट २० लाख विनियोजीत रकमबाट हाल सम्झौता भई निर्माण प्रकृयामा रहेको छ ।
मुख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्रमा संसद क्षेत्र विकास कोष अन्तरगत रकम विनियोजन भइ हाल सम्झौता गरेर निर्माण कार्य अगाडी वढीसकेको छ । त्यसैगरी यही शिर्षक अन्तरगत पेक्ला, खोङतराङ, काँवा लप्सीबोटे हुँदै रामप्रसाद राई गाउँपालका जोड्ने सडक निर्माणको लागि १४ ला ८५ हजार रकम विनियोजन भई निर्माण कार्य भइरहेको छ । यसमध्ये सगरमाथा उच्च माविमा भवन निर्माण शिर्षकको लागि प्रदेश सरकारबाट विनियोजित २५ लाख रकम भने काम गर्न नसक्ने अवस्था भएपछि करीव फर्किएर जाने निश्चित भएको प्रविधिक खड्काले बताए ।
हतुवागढी गाउँपालिकामा यसबर्ष पनि झिनामसिना योजना बाहेक ब्याख्या गर्न लायकका कुनै पनि विकास निर्माणको योजनाहरु सम्पन्न नहुनेमा गतसालकै लयमा रहेको स्थानीय नागारिक र बुद्दिजीविहरुको भनाईसंगै गुनासो समेत रहेको छ । गाउँपालिकाले भन्छ– कोरोनाका कारण यस बर्ष केही गर्न सकिएन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।