२०८० चैत्र १६ शुक्रबार

राज्य व्यवस्थाको प्रस्ताव : विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

असार-२, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा उल्लेख छ ।

यही विषयमा सहमति जुट्न नसक्दा नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि समितिमा विचाराधीन थियो ।

तर अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यो विधेयकलाई अगाडि बढाउन चाहेको छ । स्रोतकाअनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै मात्र नागरिकता विधेयक अगाडि बढाउन समिति सभापति शशी श्रेष्ठलाई आग्रह गरेका छन् ।

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पास भए लगतै नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी छ ।

त्यसअनुसार सभापति श्रेष्ठले मंगलबार बैठक बोलाएकी छन् र विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश गरेकी छन् । समितिको तर्फबाट पेश गरिएको प्रस्तावमा ७ वर्ष स्थायी रुपमा नेपालमा बसेको वडाको सिफारिस र अन्य मुलुकको नागरकता वा राष्ट्रियता खुलेको कुनै प्रमाणपत्र लिएको भए त्याग गर्ने प्रक्रिया चलाएको वा नलिएको भए त्यसको प्रमाण पेश गरेपछि वैवाहिक अंगीकृत नागरिकता लिने बाटो खुल्नेछ ।

वैवाहिक नागरिकता पाउनुअघिको अवधिका लागि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थानीय आवासीय अनुमति दिने समितिको प्रस्ताव छ ।

हाल नेपाल नागरिकसँग विवाह गरेपछि विदेशी महिलाले अंगीकृत नागरिकताका लागि आवेदन दिन सक्नेछन् ।

समितिको तर्फबाट आएको नयाँ प्रस्तावबारे अहिले समिति सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।

२०७७ असार २, मंगलवार १०:१३ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार