
असार-२३, विराटनगर । प्रदेश १ मा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगरका ६ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धरानका २ र झापाको बाह्रदशीका एक जना गरी कुल ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
एकै परिवारका चार जनामा संक्रमण पुष्टि
मंगलबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका ६ जना मध्ये चार जना एकै परिवारका सदस्य हुन् । विराटनगर-१५ की ३२ वर्षीया महिला र उनका १२, ९ र ७ वर्षीय छोराहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महिलाको श्रीमानको रिपोर्ट भने नेगेटिभ आएको छ । पाँच जनाको परिवार असार १६ गते भारतबाट आएर सँगै क्वारेन्टिनमा बसेकाे विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
अन्य दुई संक्रमित विराटनगर-६ का एक जना महिला र विराटनगर-१७ का २९ वर्षीय एक जना पुरुष हुन् । विराटनगर-१७ का पुरुष आठ दिन अघि कतारबाट आएका हुन् । कतारबाट काठमाडौं हुँदै आएका उनी क्वारेन्टिनमा बसेका थिए ।
विराटनगर-६ की ४० वर्षीया महिला भारतबाट आएकी थिइन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।