२०८० चैत्र १६ शुक्रबार

नेपालमा भारतीय न्यूज लगाएत अन्य च्यानलहरुको प्रसारण रोक्ने निर्णय

असार-२६, काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हौं । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म हामीले चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न ।’

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम”हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।

भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा सरकारको धन्यवाद

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ ।

शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।

भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै सञ्चार मन्त्रालयले पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरूले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने बताएको छ ।

आमसञ्चार माध्यमहरूले समाचार प्रकाशन र प्रसारण गर्दा सत्य,तथ्य र वस्तुपरक भई पेसागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

२०७७ असार २६, शुक्रबार १६:०६ गते 1 Minute 78 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार