२०८० आश्विन १४ आईतवार

आठ जिल्लामा बाढी पहिरोले ठुलो धनजनको गर्यो, २३ को मृत्यु, २६ बेपत्ता

असार-२६, काठमाडौं । शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भएको केन्द्रको भनाइ छ ।

कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको छ ।

कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति

शुक्रबार सबैभन्दा बढी मानवीय क्षति कास्की र जाजरकोटमा भएको छ । दुवै जिल्लामा ७/७ जनाको मृत्यु भएको छ । पोखरा-१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा-२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ११ छ ।

थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका-४, सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीया छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे गाउँपालिका-९ का २० वर्षीय डिल्ली सार्की र १९ वर्षीय वीरेन्द्र सार्कीको पनि मृत्यु भएको हो । अन्य तीन जनाको सनाखत भइसकेको छैन । बेपत्ता अन्यको खोजी भइरहेको श्रेष्ठले बताए ।

म्याग्दीमा ३ जनाको मृत्यु, उद्धारमा कठिनाइ

म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

म्यादीको धौलागिरि गाउँपालिका-७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका-६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

धौलागिरि गाउँपालिका-६ मराङमा २१, मालिका गाउँपालिका-७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’, उनले भने । उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको थियो । तर, मौसमका कारण बीचबाटै तीन पटक होलिकप्टर फर्किएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

लमजुङमा तीनजनाको मत्यु

लमजुङको बेंसीशहर नगरपालिका-७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

विहीबारकै रात लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

रुकुम र गुल्मीमा तीन जनाको मृत्यु

रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । आठबीसकोट नगरपालिका–३, रजेखोलामा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ६ बजे गएको पहिरोले तुलबहादुर दमाईको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षीय सीता र ६ वर्षीय छोरा हाबिलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घर पुरिँदा घाइते ८ वर्षीया छोरी हिराको अवस्था सामान्य छ । यस्तै, गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर-४ का ६२ वर्षका यमबहादुर श्रीस छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो । श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

२०७७ असार २६, शुक्रबार १५:३९ गते 1 Minute 353 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।