२०८० आश्विन ७ आईतवार

१३औ  दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई १ नं प्रदेश सरकारले सम्मान गर्यो

साउन-१, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं । १३औ  दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं १ को तर्फबाट बुधबार आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।

खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताउनुभयो ।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताउनुभयो । उहाँले भन्नुभयो खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ । उहाँले खेलाडीहरुलाई व्यवसायीक ढंगबाट अगाडि बढ्न समेत आग्रह गर्नुभयो । तपाईहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन मुख्यमन्त्री राईले भन्नुभयो ।

खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नुहुने उहाँको धारणा थियो । सैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशको रुपमा लिनु पर्ने धारणा राख्नुभयो । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रुपमा समेत लिनु पर्नै बताउनुभयो ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरुको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो ।

सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताउनुभयो ।

२०७७ श्रावण १, बिहीबार १२:५८ गते 1 Minute 289 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार