२०८० आश्विन ७ आईतवार

‘जनताको वडा कार्यालय’ लाई सहयोग जारी ।

 -प्रकाश दिप्साली राई
साउन-१६, नडाहा, वराहक्षेत्र । वराहक्षेत्र ३ नडाहा स्थित जनताको वडा कार्यालय निर्माणका लागि बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ ।
जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले पनि बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र रुद्रबहादुर दाहालबाट १ लाख ५१ हजार प्राप्त भएको छ ।

अमृतबहादुर खडकाबाट ५१ हजार, निरकुमार कार्कीबाट ११ हजार ५ सय ५५, तुलमति एभेङ लिम्बूबाट १५ हजार १ सय, कमला थापाबाट ११ हजार, अर्जुन कार्कीबाट ५ हजार ५ सय र स्वर्गीय माता मोतीमाया राईको नाममा छोरा उत्तमकुमार राई कान्छाले १० हजार रुपैयाँ प्रदान गरेको निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिए । रकम हस्तान्तरण पश्चात आफ्नो विचार राख्दै तिलक कार्कीले केही केहिमा अझै पनि यो भवनले वडाकार्यालयको मान्यता नपाउने पो हो कि भन्ने केही शङ्का रहेको हुँदा त्यो शङ्कालाई प्रस्ट्याउन वडाअध्यक्षलाई अनुरोध गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै वडाअध्यक्ष रुद्र दाहालले यो वडाकार्यालयको भवन प्रती कसैले शङ्का नगर्न अनुरोध गरे उनले भने यो नै आधिकारिक वडाकार्यलय हो । तल मुसहरी टोलमा बन्दै गरेको भवनलाई निर्माण सम्पन्न हुने बित्तिकै कुनै पनि प्रयोजनमा ल्याइहाल्ने बताए ।

वराहक्षेत्र ३ नडाहास्थित मुख्य चोकमा ६ कोठे भवन वडा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ । हालसम्म २१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी स्थानीयबाट इटा, ढुंगा, बालुवा, काठलगायत जिन्सी सहयोग समेत भइरहेको छ ।
चारकोशे झाडीको छेऊमा रहेको नडाहा केही दशक अघिसम्म स्याल कुद्ने क्षेत्रका रुपमा बुझिन्थ्यो ।

‘नड्या’बाट अपभ्रंश हुँदै नडाहा बनेको यो चोक अहिले वरिपरिको केन्द्र भएको छ । यहाँबाट धरान हुँदै कोशी राजमार्ग, चतरा हुँदै पूर्वपश्चिम लोकमार्ग, चक्रघट्टी हुँदै सुनसरी सदरमुकाम इनरुवा, कालाबन्जार– हुँदै इटहरी र पूर्वपश्चिम राजमार्ग छोएको छ । ६ लेनको सडक, फराकिलो चोक खुला वातावरण र आसपासका मनोरम दृष्यले नडाहा मनोरम बनिरहेको वडाध्यक्ष रुद्र दाहाल बताउँछन् । संयोगको कुरा नडाहा चोक नौ वटा शाखा बाटोले जोडिएको छ ।
वराहक्षेत्र नगरपालिकाले निर्माण गर्ने वडा कार्यालयमा नीतिगत विवाद भएपछि जनस्तरबाट नडाहामा वडा कार्यालय निर्माण भइरहेको छ । ‘आगामी भदौ पहिलो हप्ताभित्र जनताको वडा कार्यालय समुद्घाटन गर्ने योजना छ’ निर्माण समितीका अध्यक्ष पुरीले भने ।

२०७७ श्रावण १६, शुक्रबार ०५:४२ गते 1 Minute 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार