२०८० जेष्ठ १७ बुधबार

बराहपोखरीको किम्बदन्ती, मिथक र लोककथा

खोटाङ । खोटाङ जिल्लाको दक्षिणी भेग आम्चोक गाउँपालिका नजिकै पर्ने बाराहा पोखरी एक पवित्र धार्मीक र पर्यटक स्थलको रुपमा परिचित रहेको छ । यस गाउँपालीकाको वडा नं. १ मा अवस्थित धार्मिक र सास्कृतिक पर्यटनको हिसावले समेत अति महत्व बोकेको यो पोखरी करीव १ हजार १३ मिटरको उचाईमा रहेको छ ।
यो पोखरी करिब ३ सय ३० मिटर लम्बाई र २ सय १० मिटर चौडाई क्षेत्रफल जमिनमा फैलिएको छ । यस पोखरीको छुटटै ऐतिहासीक महत्व रहेको छ । यस पोखरीको बारेमा विभिन्न खाले लोक उक्ती र विम्वदन्तीहरु पनि रहेको पाइन्छ ।

विश्वकै सम्पदा सुचिमा नै दुर्लभ मानिने रातो जातको एक प्रजाति माछा यस पोखरीमा पाइन्छ । यस तालमा रातो माछा अत्याधीक मात्रमा हुने भएकोले समय समयमा आश्चार्य लाग्दो पोखरी नै राताम्मे हुने गरेको प्रत्यक्ष देख्न पाइन्छ । रातो माछाको अलवा यस पोखरीमा अन्य जातको कालो र सेतो रङ्कका माछाहरु र जलहासका बथानहरु पनि प्रसस्त देख्न सकिन्छ । पोखरी भित्र यीनीहरुको रोमान्चकारी खेलले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्दछ ।

झट्ट हेर्दा यो पोखरी खुर्पा आकारको जस्तो देखिन्छ । खुर्पा जस्तो देखीने भएकोले यस पोखरीलाई स्थानिय किरात राई चाम्लिङ भाषामा (वारु) खुर्पा भन्ने गरिन्छ भने पानीलाई (वा) भनिन्छ । यस भूगोलमा चाम्लिङ राईहरुको घनबस्ती भएकोले यस पोखरीलाई स्थानीय चाम्लिङ भाषाबाट नामाकरण गरिएको स्थानीय अग्रजहरुको भनाई छ । यस पोखरीको नाम (वारुवा) को रुपमा पहिला चिनिन्थ्यो भने पछिल्लो समय अप्रभ्रंश हुँदै बाराहा भएको हो भनेर स्थानीय बताउछन् ।

पोखरीको उत्पतिको बारेमा विभिन्न खाले फरक फरक किम्बदन्ती, मिथक कथाहरु सुन्न पाईन्छ गाउँघरमा । बाराहा पोखरीको दक्षिण पश्चिमपटि केहि समथर जमिन छ । किम्बदन्तीका अनुसार– उहिले उहिले त्यहि ठाउँमा यो पोखरी थियो । तर त्यो पोखरीको शिरमाथि मानब बस्ती रहेको र यो पोखरी एकदमै शक्तिले सम्पन्न भएकोले पोखरी माथिको बस्तिबाट फोहोरमैला तल पोखरीमा खसेर जम्मा हुन थालेकोले साबिकको ठाउँबाट सर्न खोज्दा हाल पोखरी रहेको ठाउँ पोखरीलाई मनपर्यो र हाल अवस्थित भएको ठाउँमा किराँती कुलको एक निसन्तान विजुवा,धामिहरुको गुरु शक्तिशाली मुन्धुमी (दोवा) हुलोप्पा उनको श्रीमती हुलोम्मा र अन्य केही परिवारहरु पनि बस्ने गर्दथ्यो ।

समयसंगै एक रात गाउँको सबैलाई पोखरीले म यहाँ सर्दैछु तिमीहरु अन्तै जाउ भनेछ । यो कुरो गाउँको सबै धामीहरुको गुरु हुलोप्पालाई सुनाएछन तर हुलोप्पाले तिमीहरु सर म यहि बस्छु भनेछन् । अनि गाउँका सबै जना हुलोप्पा हुलोम्मा बाहेक त्यहाँबाट बस्ती सरे । केहि दिन पछि एक साँझ हुलोम्मा खाना पकाउदै गर्दा त्यहिबेला अगेना छेउमा धाजा फाटेछ । त्यही धाजाबाट पानी र रातो माछा निस्कन थालेछन । यो देखेर लौ न यो के भयो ¤ भन्दै हुलोम्माले आफ्नो बुढा हुलोप्पालाई सुनाउदा हुलोप्पाले आज तरकारी नभएको बेला भगवानले पठाएको माछा पठाएछन लु यसैलाई तरकारी पकाउ भनेछि रातो माछालाई कराईमा हाली पकाउन लाग्दा एक्कासी यहि बेला सारा जमिनमा धाजा फाटि वरिपरि जलमग्न भई त्यो ठाउँ पोखरी भयो । भोलिपल्ट उसको चेलाहरु र गाउँलेहरु हेर्न आउँदा हुलोप्पा हुलोम्मालाई नदेखेको र त्यो ठाउ पुरै पोखरी ताल बनिसकेको देखेर पोखरीले नै गुरु हुलोप्पा र हुलोम्मालाई राखेको विस्वास गरी पोखरीलाई फकाउन जानेको मुन्धुम रिसिया मन्त्र फलाक्दै, ढोल र थाल बजाउदै पोखरी वरीपरी घुम्नथाले नभन्दै केहि समय पछि पोखरी किनारामा हुलोप्पा र हुलोम्माको लास तैरिएको देखियो । त्यसपछि गाउँले र चेलाहरुले आफ्नो गुरुको परम्परागत रुपले दाहसंस्कार गरे ।

यसरी आफ्नो मुन्धुमी गुरुको आत्मशान्तिको लागि र मृत गुरुबाट शक्ति प्राप्त गर्नको लागी हरेक बर्ष विभिन्न ठाउँबाट धामी झाक्रीहरु यहाँ आई ढोल, ढेङ्ग्रो बाजाउदै धामी नाँच (चिन्ता) राखे आफ्नो शक्ति, विद्या तिखारीने र प्रतापी हुने विस्वासको साथ पोखरीमा शक्ति माग्ने गर्दछन । पोखरीको बारेमा किराती गाउँघरका धामी झाक्री र पुराना बुढ्यौलीहरुले अझैपनि कथा भन्ने गरेको पाईन्छ ।

बाराहा पोखरी आसपासका बासिन्दाहरुबाट पोखरीमा पानी कम भएको बेला पोखरीको बिच भाग तिर एउटा खम्बा देखिन्छ र त्यो खम्बा नै त्यहि धामिहरुको गुरु (हुलोप्पा, हुलोम्मा) घरको मुल खम्बा हो भन्ने समेत गरिन्छ ।

यो सामाग्री आम्चोक निवासी सुधिर राईको फेसबुक पोष्टको सहयोगमा तयार गरिएको हो । स.

२०७७ श्रावण १७, शनिबार ०४:४४ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।