साउन-१७, नडाहा। याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको मेन्छ्यायेम (टप १०) राउण्डमा प्रवेश गर्न सफल नडाहाका शान्तिराम खरेललाई जिताउन वराहक्षेत्रवासीले अभियानलाई तिव्र बनाएको छ ।
आज किराँत याक्थुङ चुम्लुङ, वराहक्षेत्र -३, याक्थुङ आप्लुङ सयङ, वराहक्षेत्र -३, किरात याक्थुङ साक्थिम सयङ, वराहक्षेत्र, वराहक्षेत्र -३, सुम्वादो (लिम्बू भाषाको कार्यक्रम सुनसरी एफ. एम.१०४. ६ मेघाहर्ज, चक्रघट्टि)ले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा गैर लिम्बू भएर पनि यो स्थानमा आउनु भनेको सिङ्गो लिम्बू समुदायको सम्पत्ति भएको ठहर गर्दै शान्तिराम खरेललाई प्रथम अन्तराष्ट्रिय पालाम प्रतियोगितामा विजयी गराउन सशक्त अभियान चलाउने निर्णय गरेको छ ।
वराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ का वडाअध्यक्ष रुद्र बहादुर दाहाल, वडासदस्य कमल चोङ्बाङको समेत उपस्थितिमा सम्पन्न सो कार्यक्रममा अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, लिम्बू तथा राई समुदायका अगुवाहरुको भेलाले शान्तिराम खरेल वराहक्षेत्र -३ र वराहक्षेत्र नगरपालिकाकै सान भएकोले उनलाई जिताउन जुनसुकै कसुर बाकी नराख्ने निष्कर्ष समेत निकालेको छ । यस्तै ब्यानर, रेडियोमार्फत प्रचार प्रसार तिव्र गतिमा अघि बढाउने सल्लाह भएको छ ।वडाअध्यक्ष दाहालले शान्तिराम वराहक्षेत्र -३ कै सान भएकोले उनलाई वडाले पनि आफ्नो भुमिका खेल्ने बताए ।
सोही भेलामा उनलाई विजयी गराउन आवश्यक आर्थिक सहयोग सङ्कलन समेत गरिएको छ । जसमा समाजका प्रबुद्ध व्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगी खरेलले आफुले आफ्नो ठाउँबाट सक्दो कोसिस गरेको र अब आफुलाई सामाजिक संजाल फेसबुकमा लाइक , कमेन्ट र सेयरको आवश्यकता भएकोले यहि साउन २० गतेसम्म यथासक्य छिटो र सक्दो सहयोग गर्न अपिल गरेका छन् ।