
-प्रकाश दिप्साली राई
भाद्र-१९, मोरङ । मोरङको सिरानमा सिंहदेवीमा जेफाले जेफाले भन्ने सुन्दर ठाउँ छ । सोही ठाउँमा विभिन्न साहित्यिक गतिविधि हुने गर्दछ । सोही क्रममा हिजोबाट सोही ठाउँमा “जेफाले सिर्जना डबली” सुरु भएको छ ।
घरी भुइकुइरोले छपक्कै छोप्ने त घरी एकै छिनमा खुला निलो आकासमा मुनि हरियो स्वच्छ कन्चन जेफालेको मनमोहकता देखिन्छ । र नै पनि होला जेफालेलाई स्वर्गको एउटा टुक्रा मान्न थालिएको छ । विहीबार करिब ११ बजेतिर हुनुपर्छ सम्मेवाबाट ठाट्टिएर कवि राज माङ्लाक काधमा क्यामेरा भिरेर जेफाले आइपुगे, साथमा सम्मेवा प्रहरी पोष्टका इन्चार्ज पोषराज कार्की, फिल्म डाइरेक्टर रोमी मगर पनि सङ्गै गफिदै फिल्मको पर्दामा जसरी जेन्टलमेन बनेर जेफालेमै आइपुगे ।
यता जेफाले होमस्टेका अध्यक्ष युवराज खड्का र सचिब भिम बहादुर ठकुरी आफ्नो कामलाई थाती राखेर बिहिबारे बजारको चौरमा निस्के र बसिबसाइको बन्दोबस्ति मिलाउन थाले ।अनि तल सिंहदेवीको लक्ष्मिपुरबाट एउटा डायरी हल्लाउँदै, निधारको पसिना पुछ्दै हिरो झैँ उकालिए युवराज ठकुरी । पछिल्लो पल्ट जेफालेको पर्यटनलाई कला र सिर्जनासङ्ग जोड्ने पुलको काम निरन्तर गरिरहेका छन् ठकुरी । र नै सम्भव भएको छ जेफालेको सौन्दर्य राष्ट्रियस्तरका सन्चार माध्यमहरुमा छापिन र बज्न । यस्तै यस्तै सामान्य भेला हुन्छन् र सुरु हुन्छ “जेफाले सिर्जना डबली” युवराजको दुई गजल सेरसङ्गै ।
कति राम्रो बिहिबारे बजार जेफालेको फेदीमा। सौन्दर्यको सिङ्गो आधार जेफालेको फेदीमा।गाउँघरको कोदो मकै साग सिस्नु सबै कुरा , पाइन्छ है सबै प्रकार जेफालेको फेदीमा।
क्यामेरा घुमाउन थाल्छन् क्यामेरा प्रविधिमा माहिर एन्जिल्स लिम्बु अनि वाचन गरे युवराज ठकुरीले पहिलो डबलीमा कवि हेमन यात्री, प्रदिप योङहाङ, रोमु अधिकारी, पिताम्बर गौतम, सुमन मेवाहाङ लगायतको रचनाहरु जसको कारण डबलीको सुन्दरता बढ्यो ।
त्यसपछी सिर्जनाका बारेमा केही भलाकुसारी अनि जेफालेको पर्यटन अवस्था सम्बन्धी पनि चर्चा भयो । डबलीका प्रमुख वक्ता राज माङ्लाकले जेफाले पर्यटकीय गन्तव्य भएकोले यसलाई महत्वपूर्ण रुपले हेर्नुपर्ने बताउँदै यसको प्रर्वधनमा कवि कलाकारहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको र यसलाई अब सम्बन्धित निकायले पनि महत्व दिन आग्रह गर्दै जेफाले कवि कलाकारहरुको पनि उचित गन्तव्य भएको बताए । डबलीका अगुवा युवराज ठकुरीले यो विकटतालाई सबैको निकटता बनाउन र जेफालेलाई सबै सामु पुर्याउन यो डबलीको सुरु गरेको बताए ।
उनले थपे “यो महामारी बिचमा पनि सिर्जनशील मनहरुको निकट रहेर पर्यटन र साहित्यलाई जोड्ने अभियान हो ।”
२०७७ भाद्र १९, शुक्रबार ०८:३५ गते
1 Minute
72 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।