२०८० चैत्र ६ मंगलवार

विराटनगरका तीनवटा कोभिड अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

कात्तिक-१८, विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोना संक्रमणका कारण एकैदिन ८ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न तीनवटा कोभिड अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा चार, नोबेलमा एक, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका-१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि म‌ंगलबार बिहान अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृत्युपछि महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका-१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो २ः३० बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक १४ गते महिलालाई उपचारका लागि भर्ना गरिएको थियो ।

यसैगरी विराट शिक्षण अस्पतालको आइसोलेसनमा सिराहा सुखीपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-३ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको हो ।

विराटमै उपचाररत धरान-१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । देवका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा मंगलबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।

यसैगरी सुनसरीको धरान-१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्यूरो अस्पतालमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा असोज १७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् ।

यसैगरी न्यूरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका-११ का ४९ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उदयपुर घर भएका एक पुरुषको पनि मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी-६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

२०७७ कार्तिक १८, मंगलवार १४:४२ गते 1 Minute 63 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार