२०८० आश्विन १४ आईतवार

इजरायलका लागि रोजगारीकोे आवेदन फागुनको दोस्रो हप्ता खुल्ने, सफ्टवेयरको काम पुरा

फागुन-१, काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पुरा भएको र अव केही समयभित्रै आवेदन खुला गर्ने तयारी रहेेेको समेत जानकारी दिनुभयो ।

फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पुरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसै अनुसार काम गरिरहेको उहाँले बताउनुभयो ।

रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । बिभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।

ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् । इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी नगराएकोले दुई देश बीचको (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि भएको छलफलअनुसार पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने बैदेशिक रोजगार विभागको भनाई छ ।

मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजी क्षेत्रको कुनै भूमिका नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजी क्षेत्रको कुनै हात हुँदैन । इजरायल जाँदा कुनै शुल्क नलाग्ने विभागले बताएको छ । इजरायल जानु अघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, विमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसा बाहेक अरु कुनै शुल्क लाग्दैन ।

रोजगारीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरु कुनै बिचौलीयाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । कसैले इजरायलको रोजगारीमा पठाउँछु भनेर पासपोर्ट र पैसा माग्ने गरेको भए विभागमा सम्पर्क गर्नुहुन विभागले अनुरोध गरेको छ ।
नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको थियो ।

२०७७ फाल्गुन १, शनिबार ०८:२७ गते 1 Minute 81 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।