
चैत्र-९, बराहक्षेत्र । आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा सर्वसम्मत रुपमा वरिष्ठ साहित्यकार राजन मुकारुङलाई चयन गर्दै महासंघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । “साहित्यमा आदिवासी सौन्दर्य लेखौ, अग्रगमनको यात्रामा अगि बढौ ।”
भन्ने मुल नारा सहित गत चैत्र ७ र ८ गते ललितपुरको यालाखिम रेष्टुरेन्टमा सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति पनि चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका हुन् । त्यस्तै महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन् ।
सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारु र सह-कोषाध्यक्षमा जितेन पन्धाक पनि सर्वसम्मत चयन भएका हुन् । महासंघको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन् ।
उक्त राष्ट्रिय भेला महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते शनिबारबाट सुरु भएको थियो । उद्घाटन सत्रमा कवि भूपाल राई, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, नागरिक अभियन्ता नारायण वाग्ले, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्बोधन गरेका थिए । आदिवासी जनजाति महिलाको अवस्थाबारे कैलाश राईको मन्तव्यबाट सुरु भएको राष्ट्रिय भेलालाई नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णीकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाहले पनि सम्बोधन गरेका थिए ।
त्यस्तै डा. तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ शिर्षकमा र डा.अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्थासम्बन्धी महत्वपूर्ण अवधारणापत्र प्रस्तुत गरेका थिए । भेलाको दोस्रो दिन चैत्र ८ गते, आइतबार महासंघको केन्द्रीय कार्यसमिति गठन भएसँगै महासंघको ७ बुँदे घोषणापत्र पनि जारी भएको छ । आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरु सुनुवाई नभएको ठहर गर्दै महासंघले आफ्नो घोषणापत्र समेत जारी गरेको हो । महासंघले आदिवासी जनजाति समुदायका भाषाहरुलाई जोडदार रुपमा लेखक तथा तिनका मौखिक साहित्यसमेतलाई दस्तावेजीकरण गर्न गराउन सम्बन्धित जाति समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर रहि विश्वभर भएका भइरहेका आदिवासी जनजाति अभियानहरुसित घनिभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने घोषणा समेत गरेको छ ।
महासंघले प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिँदै सबै आदिवासी जनजाति, मातृभाषबिच साझा सम्बन्ध विकास गर्नको लागि साझा लेखनपद्धति निर्माण गर्ने समेत घोषणा गरेको छ । आइतबार कै दिन आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्राज्ञिक परिषद पनि गठन गरिएको छ । प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ्ग सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ चयन भएका छन् ।
यो देशका आदिवासी जनजातिहरुको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको अवस्थामा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हावी भएकाले यी प्रवृत्तिहरुका विरुद्ध एकसाथ लड्नुपर्ने महासंघका नवनिर्वाचित अध्यक्ष राजन मुकारुङको भनाई छ । साथै नेपालको सवालमा आदिवासी जनजातिहरुको सौन्दर्यशास्त्रको निर्माण गरेर त्यसलाई हरेक राजनीतिक पार्टीहरुका स्कूल विभाग र प्राज्ञिक क्षेत्रमा बहस गराउँदै त्यसलाई पाठ्यक्रममा रुपमा विकास गराउनु महासंघको मुख्य लक्ष्य हुने पनि बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।